काठमाडौँ / सरकारले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमीक्रोन’ विरुद्ध प्रतिकार्य योजना लागू गर्दै दक्षिण अफ्रिका सहित ९ देशबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ ।
सरकारले दक्षिण अफ्रिका, हङकङ, बोत्स्वाना, नामिबिया, जिम्बाबे, लेसोथो, मोजाम्बिक, मलाबी र इसबाटिनीबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

यी मुलुकलाई ट्रान्जिट बनाएर आउने अरु देशका नागरिकलाई पनि अर्को आदेश नभएसम्मका लागि प्रवेशमा रोक लगाइएको हो ।
जोखिमयुक्त मुलुकमा अत्यावश्यक कामबाहेक अनावश्यक यात्रा नगर्न पनि सरकारले आग्रह गरेको छ । नेपालबाट विदेश जाने कर्मचारीले पूर्वस्वीकृति समेत लिनु पर्ने छ ।
आइतबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा. गुणराज लोहनीले अध्यागमन विभागले सङ्क्रमणको पुष्टि भएका देशबाट नेपाल प्रवेशको अनुमति नदिने व्यवस्था गरिएको बताए ।