म्याग्दी  \  म्याग्दीका पहाडी भूगोलमा आवश्यक मापदण्ड पूरा नगरीकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरवाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् । मङ्सिर १३ गते सोमबार साँझ म्याग्दीको रघुगङ्गा गाउँपालिका बेगखोलामा भएको बोलेरो जिप दुर्घटनामा पनि साँघुरो र घुम्ती नपुगेको सडकलाई नै प्रमुख कारण मानिएको छ । 

OM Sai Pathibhara Hospital

बेनीबाट वेग जाँदै गरेको ग १ज ७२५१ नम्बरको बोलेरो जिप घाप्पा औलको उकालो मोड नपुग्ने घुम्तीबाट २०० मिटरभन्दा तल खसेर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर बेगका खिम पुन, खिमानन्द शर्मा, जिपका चालक दुतबहादुर थापा र वडा सदस्य गौमाया विश्वकर्माको मृत्यु भएको थियो भने अन्य चार जना घाइते भएका थिए । दुर्घटनामा घाईते भएका चारै जनालाई बेनी अस्पतालको उपचारपछि थप उपचारका लागि अहिले पोखरास्थित मणिपाल अस्पताल भर्ना गरिएको छ । 


उकालोमा जाँदै गरेको बोलेरो जिप घुम्तीमा मोड नपुगेर पछि सर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बताए । “उकालो, साँघुरो र चिप्लो सडक दुर्घटनाको कारण देखिएको छ”, उनले भने, “अधिकांश दुर्घटनामा जीर्ण सडकमा चालकले सावधानी अपनाउन नसकेको देखिन्छ ।” 


गत साउन १५ गते धौलागिरि गाउँपालिका – ७ धारापानी नजिकै पर्ने बादिकाको भीरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । ताकमदेखि दरबाङ तर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जिप बादिकाको भीरमा दुर्घटनामा परेको थियो । अक्करे पहाडमा बनाइएको सडकको ग्रेड मिलेको छैन भने सडक साँघुरो रहेको छ । 


यसअघि गत असार १६ गते बेनीदेखि मङ्गला गाउँपालिका – १ पूर्णगाउँ तर्फ जाँदै गरेको ग १ज ७६५२ नम्बरको जिप सोही गाउँपालिकाको वडा नम्बर २ सिमलचौर को मिठौला, नेवारे खोलामा दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए । उक्त दुर्घटनामा समेत जीर्ण सडक नै दुर्घटनाको कारण मानिएको थियो । जिल्लामा विस्तार भएका ग्रामीण सडक अधिकांश मापदण्डविपरीत विस्तार भएका छन् । प्राविधिक सर्वे बिना नै डोजर चालकको भरमा मापदण्ड पूरा नगरीकन विस्तार भएका यस्ता सडक जीर्ण, साँघुरा र ग्रेड नमिलेका छन् । 


जिल्लामा हरेक वर्ष दुर्घटनाको सङ्ख्या र त्यसमा हुने मानवीय क्षति बढ्दो छ । यस आर्थिक वर्षको मङ्सिर १५ गतेसम्ममा जिल्लामा पाँच वटा सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु भइसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, आर्थिक वर्ष २०७५÷०७६ मा सात वटा सवारी दुर्घटनामा परेका थिए भने दुई जनाको ज्यान गएको थियो । त्यसैगरी आव २०७६÷०७७ मा १३ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । आव २०७७÷०७८ मा १२ वटा सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको कार्यालय प्रमुख नेपालीले जानकारी दिए । 


दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना र चेकजाँचमा कडाइ गरिए पनि सडकको जीर्ण अवस्था र चालकको लापर्वाहीले दुर्घटना न्यूनीकरणमा चुनौती थपिएको उनको भनाइ छ । एक नगरपालिका र पाँच गाउँपालिकामा रहेका ४५ वडामध्ये जिल्लामा धौलागिरि गाउँपालिका – १ गुर्जा बाहेक अन्य सबै वडा कच्ची सडकको सञ्जालले जोडिएको छ । जिल्लाभर हालसम्म ५७२ किलोमिटर बढी कच्ची सडक विस्तार भइसकेको छ भने जिल्लाभरमा जम्मा नौ किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ । 

कच्चीरुपमा विस्तार भएका अधिकांश सडकको अवस्था जीर्ण रहेकाले सवारी दुर्घटनाको जोखिम बढेको जानकार बताउँछन् । पहाड, अक्करे भिर हुँदै विस्तार भएका अधिकांश सडक एकतर्फी मात्रै यातायात सञ्चालन हुने अवस्थाका छन् । अधिकांश ग्रामीण सडकमा एम्बुलेन्स पुग्न सक्ने अवस्था छैन । दोहोरो वारपार गर्नसमेत मुस्किल पर्ने सडकको स्तरोन्नतिमा प्रभावकारी योजना सञ्चालन हुन सकिरहेका छैनन् । हरेक स्थानीय तहले सडकलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट खर्च गरेको भएपनि सडकलाई स्तरीय बनाउन नसक्नु विडम्बनापूर्ण छ ।

सडक मर्मत र स्तरोन्नतिको काममा जनप्रतिनिधि स्वयंका डोजर परिचालन हुने र गुणस्तर र मापदण्ड पुरा नगर्ने प्रचलनका कारण सडकमा खर्चिने बजेट बालुवामा पानी हाले सरह हुने गरेको रघुगङ्गा गाउँपालिका–३ का युवा विकास भण्डारीले गुनासो गरे । “सडक मर्मतमा बजेट विनियोजन हुन्छ, खर्च पनि हुन्छ, तर सडकमा जोडर फन्को मारेर काम सक्ने प्रवृत्तिले सडकको अवस्था सुधार हुन सकिरहेको छैन, यसतर्फ वडा र पालिकाका जनप्रतिनिधिले विशेष ध्यान दिन जरुरी छ”, उनले भने ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारमार्फत समेत सडक स्तरोन्नतिमा जिल्लामा बर्सेनि करोडौँ रकम खर्च हुने गरेको छ । सडककलाई फराकिलो बनाउँदै ग्रेडिङ, नाली, पर्खाललगायतका पूर्वाधार निर्माण गरी स्तरोन्नति गर्नुपर्ने भए पनि अधिकांश योजनामा डोजर चलाएरै बजेट सक्ने प्रवृत्ति बढेकाले सडकको अवस्थामा सुधार आउन नसकेको गुनासो बढिरहेको छ ।