बुटवल / रूपन्देहीमा कीटनाशक विषादीमा प्रतिबन्ध लगाइएको छ ।
विषादीका कारण आत्महत्याका घटना बढेको भन्दै स्थानीय प्रशासनले सेल्फास नामक आल्मुनियम ट्याब्लेटको बिक्रीवितरण र प्रयोगमा रोक लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देही, मानसिक रोग विशेषज्ञ, क्वारेन्टाइन कार्यालयका प्रमुख, स्थानीय तह कृषि शाखा प्रमुख, एग्रोभेट सञ्चालक, विषादी बिक्रीवितरण गर्ने पसल सञ्चालक लगायत सरोकारवालाको संयुक्त बैठकले विषादी बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
आत्महत्याका घटना न्यूनीकरण गर्न सेल्फास नामक कीटनाशक विषादीको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए । उनका अनुसार रूपन्देही जिल्लामा विगत पाँच वर्षमा विषादीबाट मात्र ३५४ जनाले आत्महत्या गरेका छन् ।
चालु आर्थिक वर्षको चार महिनामा विषादीबाट आत्महत्या गर्ने १४ जनामध्ये सात जनाले सेल्फास नामक विषादी प्रयोग गरेको पाइएको प्रहरी उपरीक्षक केसीले बताए ।