झापा / सरकारले अफ्रिकी मुलुकबाट नेपाल आउन रोक लगाएको छ । अफ्रिकी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण पुष्टि भएसँगै नेपाल आउन रोक लगाइएको हो । 

हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकलाई अनअराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरूलाई निर्देशन दिइसकेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

उनले भने, – ‘अफ्रिकी देशहरूबाट आउने नागरिकहरूलाई अनअराइभल भिसा दिने सिस्टम थियो, त्यसलाई बन्द गरौँ भनेर अध्यागमन कार्यालय र २२–२३ वटा एयरलाइन्स सबैलाई निर्देशन दिइसकेको छ ।’

प्रवक्ता पोखरेलले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताएका छन् ।

उनले नेपाल भित्रिने नाकाहरूमा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरूलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुर्याउन निर्देशन दिइएको जानकारी दिए।

दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ ओरियन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो।