कपिलवस्तु  / कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हैजाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका –६ महुवाका १३ वर्षीया बालिका सिर्जना यादव (खुस्वु) रहेकी छिन् । 

कपिलवस्तु अस्पताल, तौलिहवामा उपचारको क्रममा यादवको मृत्यु भएको स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए ।  

OM Sai Pathibhara Hospital

अहिले सम्म हैजाको कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । कपिलवस्तुमा गत असोज १८ गते देखिएको हैजा फैलिएको थियो । बुद्धभूमि –७ मानपुरमा असोजको पहिलो साता साढे दुई वर्षकी बालिकाको झाडापखालाको कारण ज्यान गएको थियो ।

बुद्धभूमिका –५ र मायादेवीको –७ मा कोलेरा एन्टिजिन टेष्ट गर्दा १४ जनामा हैजाको जीवाणु भेटिएको छ । बुद्धभूमिका –५, ६, ७, ८ र १० वडामा बिरामी देखिएको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण अर्यालले बताए ।