बुटवल / कपिलवस्तुमा भोलि (आइतबार) देखि हैजा विरूद्धको खोप खुवाइँदै छ।

गत असोज १८ गतेदेखि फैलिएको झाडापखाला (हैजा) हाल नियन्त्रणमा रहे पनि भविष्यमा पुनः दोहोरिन सक्ने भएकोले त्यसको नियन्त्रणको लागि खोप खुवाउन लागिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

OM Sai Pathibhara Hospital

जसअनुसार पहिलो डोजको लागि २ लाख ५२ हजार ३ सय ६३ डोज खोप आइतबारदेखि खुवाउन लागिएको हो।

स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेले हैजा फैलिएको जिल्लाका ५ वटा पालिकाहरू यशोधारा, महाराजगञ्ज, कृष्णनगर, शिवराज र विजयनगरमा लगाउने गरी खोप आएको र आइतबारदेखि पहिलो डोज खुवाउन सुरू गरिने जानकारी दिए।

घिमिरेले दुईदेखि चार हप्ताको अन्तरमा दुई डोज मुखबाट खुवाइने यो खोपले करिब पाँच वर्षसम्म हैजा लाग्नबाट बचाउने बताए।

जिल्लाका पाँच वटा पालिकामा अचानक फैलिएको हैजाबाट करिब एक हजार ५ सय संक्रमित भएका थिए भने ६ जनाको ज्यान समेत गएको थियो।

मंसिर ५ देखि १२ गतेसम्म पहिलो डोज खोप खुवाएपछि मंसिर २६ देखि पुस ४ गतेसम्म दोस्रो डोज खोप खुवाउने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिएका छन्।

हैजा फैलिएका पालिकाहरूको पानीको स्रोत फोहोर भएका कारण हैजा फैलिएको पुष्टि भएपछि सङ्क्रमितहरूको उपचारसँगै समुदायमा पानी शुद्ध गर्न क्लोरिन ट्याबलेट वितरण र व्यक्तिगत सरसफाइलाई बढाएपछि बल्ल नियन्त्रणमा आएको हो।

स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेले सफा पानी पिउने, शौचालयमा दिसापिसाब गर्ने, खाना बनाउनु र खानुअघि हात धुने जस्ता कार्य नगरेसम्म हैजाको प्रकोप फैलिन सक्ने बताए ।