झापा / भारतको केरलामा नोरो भाइरसको संक्रमण पुष्टि भएको छ । केरलामा नोरो भाइरस संक्रमण देखिएकाले सर्वसाधारणलाई सतर्क रहन केरलाकी स्वास्थ्य मन्त्री बिना जर्जले आग्रह गरेकी छिन् ।
यो भाइरस जनावरबाट मानिसमा सर्ने गर्दछ । दुई हप्ता पहिला वायनाडको एक पशु चिकित्सा कलेजको १३ विद्यार्थीमा नोरो भाइरस देखिएको थियो।

अधिकारीहरूले भाइरस संक्रमण नियन्त्रणमा आइसकेको र थप फैलिएको बारेमा कुनै सूचना नआएको बताएका छन्। यद्यपि, भाइरस फैलिन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आह्वान गरिएको छ।
नोरो भाइरस संक्रमण पुष्टि भएकाहरूलाई बान्ता आउने र डायरियाको लक्षण देखिएको थियो। यो भाइरस प्रदूषित खाना र पानीका साथै संक्रमित व्यक्तिबाट पनि सर्ने गर्छ।
मन्त्रालयबाट जारी निर्देशिकामा मानिसहरूलाई पानी उमालेर खान, शौचालयको प्रयोग अघि र पछि हात धुन, साबुन पानीले पटकपटक हात धुन र स्वस्थ खानेकुरामात्र खान भनिएको छ। यस्तै, सफा कपडाको प्रयोग गर्न र जनावरको साथमा रहने मानिसहरूले थप सतर्कता अपनाउनुपर्ने समेत भनिएको छ।
बान्ता आउनु र डायरियाका साथै ज्वरो आउनु, शरीरमा दुखाई बढ्नुपनि यो भाइरसको लक्षण भएको बताइन्छ। संक्रमित भएको एक वा दुई दिनमा लक्षण देखाउन सुरु हुन्छ।
इंग्ल्याण्डमा पनि गत जुलाईमा १५४ जनालाई नोरो भाइरस संक्रमण पुष्टि भएको थियो ।