धनुषा / प्रदेश २ को स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिनदेखि विभिन्न विषयमा स्नातक तहको पठन पाठन हुने भएको छ ।
गत वर्ष फागुनमा स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा ल्याबतर्फको जनशक्ति उत्पादन गर्नका लागि बीएमएल, नर्सिङतर्फको बीएस्सी नर्सिङ तथा पब्लिक हेल्थतर्फ बिपिएचको पठनपाठन केही दिनबाटै सुरु गर्ने तयारी गरेको प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहले
जानकारी दिए ।

डा. साहका अनुसार सबै विषयको अध्यापनका लागि विद्यार्थी भर्ना तथा पाठ्यक्रमको निर्माण गर्ने काम भइसकेको छ ।
जनकपुरधामको मणिपाल शिक्षण कलेजलाई नै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन अध्यापन गर्ने थलो बनाइएको छ ।
पहिलोपटक स्नातक तहका तीनवटा विषयको अध्यापन अनुमति प्रतिष्ठानले प्राप्त गरेको छ । जसअन्तर्गत नर्सिङ, पब्लिक हेल्थ तथा ल्याबतर्फका लागि २०/२० वटा सिटमा भर्ना पनि भएको प्रतिष्ठानले जनाएको छ ।
तोकिएको शुल्कमा नबढ्ने गरी अध्ययन अध्यापन गराउने उपकुलपति डा. राम केवल साहले बताए ।