काठमान्डौ //गाँजा उत्पादन तथा बिक्री वितरण गर्न सहजीकरण गर्ने गरी कानुन संशोधन गर्ने तयारी भइरहेको  स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्।

गाँजा औषधिजन्य प्रयोग र नगदे बालीका रूपमा रहेको हुनाले यसको उत्पादनमा सहजीकरण गर्ने गरी कानुन संशोधन गर्ने  तयारी भएको स्वास्थ्यमन्त्री  खतिवडाले बताएका हुन्। एक- दुईवटा दफा संशोधन गरेर गाँजालाई लागू औषधको श्रेणीबाट हटाउने उनले जानकारी गराएका छन्।

OM Sai Pathibhara Hospital

अहिलेसम्म यो संशोधन प्रक्रिया पूरा भइसक्नुपर्ने मा विभिन्न राजनीतिक समस्याका कारण दलहरूबीच गम्भीर छलफल गर्न नपाएको र संसद् बैठकसमेत अवरूद्ध रहेकाले ढिलाइ भइरहेको उनले बताएकाछन् ।

प्रतिनिधिसभा बैठकमा तत्कालीन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का ४६ सांसदले गाँजा 'वैधानिक' बनाउन सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेका थिए।

 बैठकमा बोल्न दिइएको तीन मिनेट समयमा खतिवडाले यसबारे विदेशमा धमाधम गाँजा खुला भइरहेका बेला नेपालले समयमै यसबारे पहल गर्नुपर्ने बताएका थिए।

अहिले आफू स्वास्थ्यमन्त्रीका रूपमा आएपछि उनी औषधिजन्य प्रयोग निम्ति गाँजालाई वैधानिक रूपले खुला गर्न कानुन संशोधनको तयारीमा छन्।

अहिलेसम्म भएका छलफलका आधारमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरू कोही पनि यसविरुद्ध नउभिएको उनले बताएका छन्।

लिखित वा कानुनी रूपमा सबैको सहमति पारित नभए पनि सबै यसमा एक हदसम्म सहमत भइसकेको उनको भनाइ छ।

एकचोटि गाँजालाई औषधिजन्य प्रयोग र नगदे बालीका रूपमा उत्पादन गर्न अनुमति दिइसकेपछि यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे छलफल हुने उनले बताएका छन्।