निमोनिया के हो ? निमोनिया भनेको श्वासप्रश्वास सम्बन्धि संक्रमण हो र यसले फोक्सोमा असर गर्छ। निमोनिया भएको अवस्थामा फोक्सोभित्र भएका स–साना हावाका थैलीहरूमा तरल पदार्थ भरि श्वास फेर्न कठिनाइ भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जान्छ। ५ वर्ष मुनिका बच्चाहरूको मृत्युको प्रमुख कारण निमोनिया हो।

निमोनिया के कारणले हुन्छ ?

OM Sai Pathibhara Hospital

–निमोनिया विभिन्न खालका सङ्क्रामक तत्त्वहरू जस्तै ब्याक्टेरिया, भाइरस तथा फन्गाइबाट हुने गर्दछ।

निमोनिया कसरी सर्दछ ?

मुख्यतया बच्चाहरूको नाक र घाँटीमा रहेका सङ्क्रामक जीवाणु वा किटाणुहरू श्वासको माध्यमबाट फोक्सोसम्म पुगि निमोनिया गराउन सक्छन्। संक्रमित व्यक्तिहरूले हाछ्यूँ गर्दा वा खोक्दा थुक र सिंगानको छिट्टाबाट सर्न सक्दछ।

कस्तो बच्चाहरुलाई निमोनिया हुने जोखिम बढी हुन्छ ?
विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूर्ण स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै कम तौल भएका बालबालिकाहरुमा निमोनिया हुने सम्भावना बढी हुन्छ। खाना पकाउँदा निस्कने घरभित्रको धुँवा र धूम्रपान गर्दा निस्कको धूवाँले साथै एउटै कोठामा धेरै मान्छेको भिडभाडले यो रोग लाग्ने सम्भावना बढाउँछ।

निमोनियाको लक्षणहरू के के हुन्छ ?

-ज्वरो आउने
-शरीरमा काँढा उम्रने र कम्पन आउने
-छिटो छिटो सास फेर्ने
-श्वास फेर्न कठिन हुने
-श्वास लिँदा र छोड्दा अस्वभाविक आवाज आउने
-कोखा हान्ने
-झोल कुरा पिउन नसक्ने वा आमाको दूध राम्री चुस्न नसक्ने
-धेरै सूति रहने वा ब्युँझाउन गाह्रो हुने
-नाकबाट सिँगान बग्ने
-खोकी लाग्ने

निमोनियाको उपचार तथा रोकथाम कसरी गर्ने ?

-बच्चाहरुलाई समयमा सबै खोपहरुको मात्र पूरा लगाउने
-बच्चालाई पटक पटक खाना वा झोल कुराहरू खान दिने
-बच्चालाई बिरामी पर्दा पनि पटक पटक स्तनपान गराइरहने र पूर्ण स्तनपान गराउने
-बच्चालाई न्यानो पारेर राख्ने तर नगुम्स्याउने
-बच्चालाई धुँवा (घरभित्र धुँवा, भिडभाड तथा धूम्रपानका धुँवा), धुलोबाट बचाउने, बच्चाको वरिपरी धूम्रपान नगर्ने र अरुलाई पनि गर्न नदिने।
-बच्चाको नाक बेला बेलामा सफा गरिदिने।