झापा / नेपालमा दुई दिन भित्र कोरोना विरुद्धको भेरोसेल र एस्ट्राजेनेका गरी झन्डै १५ लाख मात्रा खोप आएको छ ।
बुधबार स्विजरल्यान्डबाट चार लाख ९२ हजार मात्रा एस्ट्राजेनेका र बिहीबार दिउँसो चीनबाट १० लाख मात्रा भेरोसेल खोप नेपाल आएको हो ।

भेरोसेल र एस्ट्राजेनेका दुवै खोपलाई टेकुस्थित खोप भण्डार केन्द्रमा राखिएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा खरिद शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए ।
नेपालमा हालसम्म कोभिसिल्ड खोप भारत सरकारको अनुदान १० लाख मात्रा, भारतसँग खरिद गरिएको २० लाख कोभिसिल्ड, भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको एक लाख, कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार डोज खोप आइसकेको छ ।
त्यसैगरी भुटान सरकारको सहयोगमा दुई लाख ३० हजार, जापान सरकारले कोभ्याक्स सुविधामार्फत १६ लाख १४ हजार ७४०, बेलायत सरकारमार्फत एक लाख ३१ हजार १२० र माल्दिभ्सबाट दुई लाख एक हजार छ सय मात्रा एस्ट्राजेनेका खोप र जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० खोप नेपाल आइसकेको छ ।
हालसम्म नेपालमा एक करोड ६१ लाख ७३ हजार २४६ मात्रा खोप लगाइएको छ ।