कपिलवस्तु  / कपिलवस्तुको कृष्णनगरमा झाडापखाला नियन्त्रणमा नआएपछि स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपको तयारी गर्ने भएको छ । 

गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै नियन्त्रणमा नआएपछि स्वास्थ्य कार्यालयले बिरामीहरूको लागि खोपको तयारी गर्ने भएको हो । 

OM Sai Pathibhara Hospital

स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपको लागि तयारी गरिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताएका छन् । साँढे दुई लाख खोप विश्व स्वास्थ्य सङ्गठनले दिने निर्णय भइसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार पहिलो चरणमा पाँच स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ । खोपसँगै नागरिकले पनि सफा पानी पाउने, हात धुनेलगायत सरसफाइमा विशेष ध्यान दिएमा मात्र नियन्त्रण हुने स्वास्थ्यकर्मीको भनाइ छ ।

कृष्णनगर नगरपालिका –९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा भर्ना भएका थिए। प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो ।

अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार शिवराज अस्पताल बहादुरगञ्जमा एक हजार ३३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए ।

अहिले पनि दैनिक १० जना भन्दा बढी उपचाररत रहेको शिवराज अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीको भनाइ छ । अहिलेसम्म जिल्लामा ६ जनाको झाडा पखालाकै कारण मृत्युसमेत भएको छ । अस्पतालमा भने अहिलेसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्कमा छ ।