बिर्तामोड / झापाको बिर्तामोड स्थित पूर्णटुङ्ग बिर्ता सिटी अस्पतालले सरकारले तोकेको न्यूनतम मापदण्ड समेत पुरा नगरी कोरोना संक्रमितका लागि एचडीयु सञ्चालन गरेर बिरामीलाई ठगी गरिरहेको पाइएको छ ।

सरकारले तोकेका न्यूनतम स्वास्थ्य सामाग्री , उपकरण र स्वास्थ्यकर्मी विना नै सञ्चालन गरिरहेको एचडीयुका नाममा कोरोना संक्रमितसँग सुविधा सम्पन्न अस्पतालले जसरी चर्को शुल्क असुली गरिरहेको पाइएको हो ।

स्वास्थ्य मापदण्ड समेत पुरा नगरी संचालन गरिरहेको एचडीयुका नाममा अस्पतालले चर्को शुल्क असुली गरेको भन्दै उपचारका लागि अस्पताल पुगेकी बिर्तामोडकी शोभा पौडेलका आफन्तले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहितका सरकारी निकायमा उजुरी गरेका छन् ।

अस्पतालले एचडीयुका नाममा संचालन गरेको वार्डमा न त दक्ष जनशक्ति नै रहेका छन् न त भर्ना भएका बिरामीका लागि आवश्यक शौचालयको नै व्यवस्था रहेको छ । भर्ना भएका बिरामीसँग अस्पतालले वेड चार्जका नाममा प्रतिदिन ११ हजार ५०० रुपैयाँ शुल्क लिने गरेको छ । त्यसैगरी अस्पतालले चिकित्सक सेवाका नाममा हरेक पटक हेरेको भन्दै प्रति पटक १ हजार रुपैयाँ शुल्क लिने गरेको छ ।

स्वास्थ्य मन्त्रालयले एचडीयुका लागि आवश्यक स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीको व्यवस्था सहितको न्यनतम मापदण्ड बनाएको छ । तर बिर्ता सिटीको एचडीयुमा सरकारले तोके अनुसारका स्वास्थ्य सामाग्री , उपकरण र स्वास्थ्यकर्मी समेत रहेका छैनन् । एचडीयुका लागि दक्ष स्वास्थ्यकर्मी मानिएका चिकित्सक समेत दिनको एक पटक मुस्किलले प्रवेश गर्ने गरेका छन् ।

उपचारका लागि अस्पताल पुगेकी शोभा पौडेलका आफन्तले अस्पतालको शुल्क र आवश्यक पूर्वाधारका विषयमा आपत्ति जनाउँदै अनुगमन गरी कानुनी कारवाहीको माग सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , प्रदेश एकको सामाजिक विकास मन्त्रालय र अस्पताल रहेको बिर्तामोड नगरपालिका कार्यालयमा लिखित उजुरी गरेका छन् ।

बिर्तामोड नगरपालिकाका प्रमुख एवं नगर स्वास्थ्य समितिका प्रमुख समेत रहेका मेयर ध्रुव कुमार शिवाकोटीले बिर्ता सिटीका विषयमा उजुरी आएको पुष्टि गरेका छन् । उनले विर्ता सिटीको एचडीयुका विषयमा स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्न स्वास्थ्य शाखालाई निर्देशन दिइएको जानकारी गराएका छन् ।

एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले विर्ता सिटी अस्पतालका विषयमा लिखित उजुरी मन्त्रालयमा आएको बताएका छन् । उनले सो अस्पतालका विषयमा अनुगमन गरी कारवाही अघि बढाउन मन्त्रालयले तयारी गरेको जानकारी गराएका छन् ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बिर्ता सिटी अस्पतालले सञ्चालनमा ल्याएको एचडीयु र शुल्कका विषयमा उजुरी आएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले २०० बेड सम्मका अस्पतालको हकमा सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य शाखालाई अनुगमन र कारवाहीको जिम्मेवारी दिएकाले सो विषयमा कारवाही अघि बढ्ने जानकारी गराएका छन् ।

उनले सरकारले तोकेका मापदण्ड र शुल्क पुरा नगर्ने प्रदेशका अस्पताललाई कानुन बमोजिम कारवाही गर्न प्रदेश सरकार मातहतको स्वास्थ्य महाशाखालाई निर्देशन दिएको समेत बताएका छन् ।

बिर्ता सिटी अस्पताल विरुद्ध अनुगमन र कारवाहीको माग सहित लिखित उजुरी दिने कोरोना संक्रमित शोभाका आफन्तले उजुरीको बोधार्थ जिल्ला प्रशासन कार्यालय झापालाई दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाइँले बिर्ता सिटी अस्पतालको एचडीयु र शुल्कका विषयमा गुनासो आएको भन्दै सो विषयमा अनुगमन गरी कारवाही अघि बढाउने बताएका छन् ।