बिर्तामोड / देशभर कोरोना संक्रमण दर बढ्न थालेपछी जारी निषेधाज्ञा थप कडाइ गरिने भएको छ । स्थानीय प्रशासनले मानवीय लापरबाहीका कारण कोभिड –१९ फैलने खतरा रहेको निष्कर्ष निकाल्दै आदेशलाई केही कडाइ गर्न थालेको हो । 

देशभर दर्जनभन्दा बढी जिल्लाले समेत कडाइ गर्दै निषेधको आदेश जारी गर्न थालिसकेको छ । 

OM Sai Pathibhara Hospital

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेल कोरोना सङ्क्रमण दरमा वृद्धि भएसँगै काठमाडौँ ललितपुर, भक्तपुरसहित झापा, इलाम, पर्सा, दाङ, बाँके, सुर्खेत लगायत जिल्लाले आदेशमा केही कडाइ गर्दै थपेको बताएका छन् । 

उनका अनुसार यसरी आंशिक वा पूर्ण रुपमा आदेश जारी गर्ने ५७ जिल्ला रहेका छन् । मुलुकभर नै निषेधाज्ञामा कडाइ गर्न थालिएको छ ।     

कोरोनाको दोस्रो लहर सुरुआत भएलगत्तै गएको वैशाख ७ गते नै सीमित क्षेत्र तोकेर निषेधाज्ञा लगाउने पहिलो जिल्ला बाग्लुङले समेत अघिल्लो हप्ताबाट थप कडाइ गर्न थालेको छ ।    

उक्त जिल्लामा अन्य गतिविधिसमेत बार तोकेर सञ्चालनको अनुमति दिइएको छ । अघिल्लो साता दुई सय जना नयाँ सङ्क्रमित देखिएकामा त्यसको पछिल्लो हप्ता नयाँ सङ्क्रमित पाँच सय पुगेको थियो । 

झापा जिल्ला अझै एक कदम अघि बढेर आदेश जारी गरेको छ । साउन ३२ सम्म जारी आदेशमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमै रोक लगाइएको छ । सरकारी तथा सार्वजनिक कार्यालयको सेवा स्थगत गरिएको छ भने अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालयलाई पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन आदेश भनिएको छ । अन्य अत्यावश्यक सामग्री ढुवानीका साधन भने समय तोकेर सञ्चालन गर्न सकिने जनाइएको छ ।     

चितवनमा पनि सङ्क्रमितको संख्या र सङ्क्रमण दर वृद्धि भइरहेकाले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन स्थानीय प्रशासनले अनुरोध गरिसकेको छ । 

अहिले पनि मुलुकका ५७ जिल्लामा निषेधाज्ञा जारी गरी कोभिड – १९ नियन्त्रणका गतिविधि सञ्चालन भइरहेको छ । प्रायः जिल्लामा कोभिडका बिरामीको चाप बढ्दै गएको निष्कर्षका साथ त्यसको नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ गर्न थालिएको हो ।     

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी संक्रमण रोक्न निषेधको आदेश महत्वपूर्ण टुल भएको नेपालको विगतको उदाहरणले नै देखाउने बताउँछन् ।     

सरकारले आवश्यकता हेरी निषेधको आदेश जारी गर्ने अधिकार प्रजिअलाई नै दिएका कारण स्थानीय प्रशासनले सङ्क्रमणको अवस्थाको आधारमा आदेश कडाइ र खुकुलो बनाउँदै आएका छन् ।