काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ ।

मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले  ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिए ।

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई सो खोपको पहिलो मात्रा  लगाएकामा अहिले करिब पाँच महिनापछि  ‘एस्ट्राजेनिका’ खोपको दोस्रो मात्रा दिइएको छ । 

“कोभिशिल्ड/एस्ट्राजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तराल दुईदेखि तीन महिना हुन्छ भनिएकामा अहिले पाँच महिनापछि दोस्रो मात्रा दिएको छ,” उनले भने, “यसबीच भएका अध्ययनले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखिएका छन् ।”

उनले पहिलो मात्रा र दोस्रो मात्राको अन्तराल पाँच महिनाको भए पनि खोपले प्रभावकारी रुपमा काम गर्ने भएकाले ढुक्क भएर ‘एस्ट्राजेनिका’ खोपको दोस्रो मात्र लगाउन अनुरोध गरेका छन् ।  

अहिलेसम्म ४६ लाख ५९ हजार चार सय १४ पहिलो मात्रा र ३२ लाख २३ हजार ६ सय ९३ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।