इटहरी / काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र वसन्त चौधरी फाउण्डेसनले सुनसरीको दुहबीमा रहेको लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने भएको छ । 

हस्पिटल र फाउण्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी ३ वर्षदेखि बन्द रहेको  अस्पताल सञ्चालनमा ल्याउने भएका हुन् ।  १५ शैया क्षमताको अस्पताललाई स्तरोन्नति गरी ५० शैया बनाएर सञ्चालनमा ल्याउन तयारी थालिएको नर्भिक अस्पतालले जानकारी गराएको छ । 

OM Sai Pathibhara Hospital

नयाँ प्रविधि , थप उपकरण अनि दक्ष जनशक्ति प्रयोग गरी अस्पताललाई सञ्चालनमा ल्याउने नर्भिकले जनाएको छ । दुहबी सहित आसपासको क्षेत्रमा सुविधा सम्पन्न अस्पतालको अभाव रहेकाले अस्पतालको व्यवस्थापन नर्भिकले र आर्थिक सहयोग चौधरी फाउण्डेसनले गर्ने भएको छ ।  नर्भिकका संरक्षक समेत रहेका वसन्त चौधरीले दुहबीको अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभव समेत प्रयोग गरी न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने बताएका छन् । 

करिब ८ हजार वर्गफिटको नयाँ संरचनासहित मुटुरोग र प्रसूति सेवा सहितका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर अनि अत्याधुनिक उपकरणसहित आइसीयु लगायतको व्यवस्था गरेर अस्पताल पुनः सञ्चालनमा ल्याउन काम अघि वढाईएको चौधरीले बताएका छन् ।  उनले अस्पतालमा डायलासिस सेवा, २४ सै घण्टा स्तरीय आकस्मिक सेवा र ७५ जनाले प्रत्यक्ष रोजगारी पाउने उनले जानकारी समेत गराएका छन् । 

आगामी बैशाख १ गते नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर च्यारिटी अस्पतालको सेवा आरम्भ गरिने चौधरीले बताएका छन्  ।

नर्भिकले यसै वर्ष सुनसरीको दुहबीमै १०० शैयाको अत्याधुनिक छुट्टै अस्पतालको निर्माण कार्य समेत सुरु गर्ने यसअघि नै घोषणा गरेको छ ।