विराटनगर / कोरोना संक्रमण विरुद्ध लगाइने खोपमा कुनै अनियमितता नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ४५ लाख जनसङ्ख्या रहेको प्रदेश नं १ मा कोभिसिल्ड पहिलो पटकमा नौ हजार ६ सय भाइल, दास्रो पटकमा ३३ हजार ३ सय भाइल र तेस्रो पटकमा तीन हजार भाइल आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भेरोसेलको पहिलो मात्रा पहिलो पटक एक लाख ४५ हजार ८ सय र दोस्रो पटक ३२ हजार ४ सय, डब्बल मात्राको भेरोसेल पहिलो पटक एक लाख ६९ हजार ९ सय ६० र पछिल्लो पटक अमेरिकन जोनसोनको ४८ हजार भाइल प्रदेशमा आएको छ ।
हालसम्म कोभिसिल्ड खोप ३ लाख नौ हजार २ सय ४६ जनालाई पहिलो मात्रा दिइसकेको र दोस्रो मात्रा ५२ हजार ८५५ जनालाई लगाइसकेको बताइएको छ । भेरोसेल खोपको पहिलो मात्रा तीन लाख २८ हजार ३१३ जनालाई र दोस्रो मात्रा ६६ हजार ३३९ र पछिल्लो जोनसोनको ६६ हजार ९०३ जनालाई खोप लगाइएको छ । मन्त्रालयले जापान र भूटानबाट प्राप्त हुने खोप प्रदेशलाई प्राप्त भएमा कोभिसिल्ड पहिलो मात्रा लगाएको मानिसलाई लगाउने योजना छ ।
प्रदेशमा हालसम्ममा तीन लाख ९६ हजार ३७२ जनाको पिसिआर परीक्षण भएको छ । जसमा ८८ हजार ४१५ जना सङ्क्रमित भए पनि ७९ हजार ४५० जना कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका छन् । प्रदेशमा अहिले पनि सात हजार २८३ जना सक्रिय सङ्क्रमित छन् ।
साथै एन्टिजेन परीक्षण शुरु भएपछि अहिलेसम्ममा एक लाख १३ हजार ७४१ जना परीक्षण गर्दा ३२ हजार ९५३ जनामा सङ्क्रमण दखिएको थियो । कोरोनाका कारण प्रदेशमा अहिलेसम्ममा एक हजार ६८२ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पहिलो चरणमा ४६० जनाको मृत्यु भएको थियो । कोरोनाको दोस्रो लहर शुरु भएपछि थप मानिसको मृत्यु भएको हो । मृत्यु हुनेमा प्रदेश बाहिरका १४८ जना छन् ।