काठमाडौं  / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी हटाउने विषयलाई लिएर पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पेखरेल र राज्यमन्त्री उमेश श्रेष्ठले फरक फरक अभिव्यक्ति दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा प्रतिष्ठानका पदाधिकारी हटाउने विषयमा बोल्दै मन्त्रीहरूले फरक अभिव्यक्ति दिएका हुन् ।

OM Sai Pathibhara Hospital

पूर्व स्वास्थ्य मन्त्री पोखरेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै पदाधिकारीलाई हटाउनुपर्ने भन्ने सम्झौता ठीक नभएको बताएका छन् भने राज्यमन्त्री श्रेष्ठले प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नहरूमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।  

पूर्व स्वास्थ्य मन्त्री पोखरेलले जो दोषी हो, उसैलाई मात्रै हटाउनुपर्ने बताएका छन् । 

त्यस्तै राज्यमन्त्री श्रेष्ठले प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाई छानबिन समिति गठन गरेर, समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुने बताएका छन् । 

स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षबीच प्रतिष्ठानका चारैजनालाई पदबाट हटाउने प्रक्रिया सुरु गर्ने लगायतका विषयमा बुधबार ६ बुँदे सहमति भएको थियो ।