बिर्तामोड / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ ।
‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भएको र मास्क लगाउन पनि लापरवाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान शुरु गर्न लागिएको जानकारी दिए ।
“महामारी नियन्त्रणमा खोप जतिकै मास्क, सेनिटाइजरसंँग जनस्वास्थ्यको भूमिका पनि महत्वपूर्ण रहेको छ”, उनले भने, “सबै नेपालीलाई महामारी नियन्त्रणमा मास्कको भूमिकाबारे जनचेतना जगाउन आवश्यक छ ।”
म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने सन्देश दिई कोभिड –१९ को रोकथाम तथा नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले सबैले अनिवार्य मास्क लगाउनसमेत उनले आग्रह गरे ।
सङ्क्रमण दिनानुदिन बढे पनि मानिसले सही तरिकाले मास्क नलगाउने गरिएको पाइएको छ । स्वास्थ्य सेवा विभागको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा. राधिका थपलियाले मास्कबारे जनचेतना मात्र नभइ मास्कले मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान शुरु गर्न थालिएको बताइन् ।
स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा मास्क कसरी लगाउने भनेर सिकाउने छन् । उनका अनुसार स्वास्थ्य स्वयमसेविकामार्फत गाउँटोलमा मास्कको महत्वबारे टोलटोलमा सिकाइने छ । सात दिनसम्म मास्कको महत्व र लगाउने तरिका सिकाइने छ ।
अहिले दैनिक सङ्क्रमित बढेपछि जोखिम पनि बढेको छ । बुधबार मात्र चार हजार १०७ व्यक्तिमा सङ्क्रमण देखिएको थियो ।