झापा / झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दै आएका करिब तीन हजार भुटानी शरणार्थीलाई कोरोना विरुद्धको खोप लगाइएको छ । स्थानीय स्वास्थ्य शाखा मार्फत दुई शिविरका १८ वर्ष माथिका करिब तीन हजार शरणार्थीलाई जोन्सन खोप दिइएको हो । 

नेपाल सरकार र शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (यूएनएचसिआर) को समन्वय तथा त्यहाँका शरणार्थी व्यवस्थापन समितिको व्यवस्थापनमा एकै साथ खोप लगाइएको शनिश्चरे स्थित शिविर व्यवस्थापन समितिका सचिव चम्पासिंह राईले जानकारी दिएकी छन् ।

OM Sai Pathibhara Hospital

उनका अनुसार पथरी शिविरमा कूल एक हजार ५ सय भुटानी शरणार्थीमध्ये  ८ सय ५६ र दमकको बेलडाँगी स्थित शिविरका दुई हजार ३ सय ७ शरणार्थीलाई खोप लगाइएको हो । खोप कार्यको अनुगमनमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, दातृ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

चार महिनाअघि निकालिएको तथ्याङ्क अनुसार झापा र मोरङमा कूल छ  हजार ५०० भुटानी शरणार्थी बसोबास गरिरहेका बेलडाँगी शिविर व्यवस्थान समितिका सहसचिव टिबी राईले बताएका छन् ।