धरान / स्वास्थ्य मन्त्रालय र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ । वीपी प्रतिष्ठानको वेथिति र भष्ट्रचारको शुद्धिकरणका लागि आन्दोलन गर्दै आएका संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच बुधबार ६ बुँदे सहमति भएको हो ।

दुई पक्षबीच ६ बुँदे सहमति भएसँगै संघर्ष समितिले साउन १६ गते घोषणा गरेको कार्यक्रमहरु स्थगित भएका छन् । आन्दोलनका कारण प्रतिष्ठानका अवरुद्ध सेवा सुचारु भएका छन्। सहमति भएपनि प्रतिष्ठानका पदाधिकारीहरूको कक्षमा लगाइएको तालाबन्दी भने यथावत रहने आन्दोलनकारीले बताएका छन् । 

OM Sai Pathibhara Hospital

बुधबार भएको ६ बुँदे सहमतिमा २०७८ साल श्रावण १९ मा सार्वजनिक भएको “वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या पहिचान तथा छानवीन कार्यदल” को प्रतिवेदनको परिच्छेद ३ मा उल्लेख गरिएको समस्या समाधानको लागि सुझाव कार्ययोजनाको अनुसूची –१ बमोजिमको सुझाव कार्ययोजनाको समय–सीमाभित्र कार्यान्वयनमा लैजाने साथै यसअघि बनेका प्रतिवेदनहरु सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने सहमति भएको उल्लेख गरिएको छ।

त्यस्तै वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११घ मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रकृया आजैबाट शुरु गर्ने र अब उप्रान्त, प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्ने दुई पक्षबीच सहमति भएको हो।

मन्त्रालयका तर्फबाट डा. कृष्णप्रसाद पौडेल, मानबहादुर बस्नेत र देवराज भण्डारीले तथा संघर्ष समितिका तर्फबाट संयोजक डा. एसपी रिमाल, सह संयोजक डा. विष्णु पोखरेल लगायतका १४ जना सदस्यहरुले सहमति पत्रमा हस्ता क्षर गरका छन् ।

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा विचाराधिन उजुरी तथा मुद्दाहरुको कारबाहीको प्रक्रियाका अवस्था बुझी शीघ्र कार्य फस्यौटको लागि मन्त्रालयमा तोकिएको महाशाखाले समन्वय एवम् सहजीकरण गर्ने लगायतका सहमति भएका छन्।