झापा / कोरोना संक्रमण बढेसँगै झापाका कोभिड अस्पतालहरू सङ्क्रमितले भरिन थालेका छन् ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शैयाको क्षमता रहेको कोभिड उपचार केन्द्रमा ६० वटा शैयामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । हाल अस्पतालमा ६० जना सङ्क्रमितको उपचार भइरहेको र अक्सिजन आवश्यक पर्ने बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा टङ्क बारकोटीले जानकारी दिएका छन् । पाँचवटा आइसीयु कक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकोमा सबै शैया भरिएको उनले जानकारी दिएका छन्

OM Sai Pathibhara Hospital

बिर्तामोडको बीएन्डसी अस्पतालमा पनि १०० शैया कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याएकोमा ७४ जना बिरामीको उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिएका छन् । अस्पतालले ३२ शैयाको आइसीयु संक्रमितका लागि व्यवस्था गरेकामा हाल सबै शैया भरिएको उनले बताएका छन् ।

बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा कोभिडका लागि ५३ शय्याको आइसोलेशन, नौ शय्याको भेन्टिेलेटर र १२ शय्याको आइसीयु व्यवस्था गरिएको भएपनि हाल सबै आइसोलेसन वार्ड, आइसीयु र भेन्टिलेटर भरिएको अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले जानकारी दिएका छन् । व्यवस्था गरिएको सबै शैयामा सङ्क्रमितले भरिएपछि अब आउने नयाँ बिरामीलाई पाल टाँगेर राख्न पर्ने अवस्था आउन सक्ने उनले बताएका छन् ।

त्यसैगरी , दमक नगरपालिकाले सञ्चालन गरेको बेलडाँगी कोभिड अस्पतालमा ३० शैया व्यवस्था गरिएकोमा पूर्णरुपमा संक्रमितले भरिएको अस्पतालले जानकारी दिएको छ ।