धरान / धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनका क्रममा आन्दोलनकारीले डिन कार्यालयमा तालाबन्दी गरेको छ ।

प्रतिष्ठान भित्रको बेथिति र भ्रष्टाचारको विरोधमा पदाधिकारीको राजिनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सक, विद्यार्थी र कर्मचारीले पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आइतबार डिन  कार्यालयमा  तालाबन्दी गरेका हुन् ।

आन्दोलनकारीले माग पुरा गर्न शनिबार सरकारलाई ७३ घण्टे अल्टिमेटम दिएका थिए । उनीहरूले माग पुरा नभए डिन कार्यालयमा पनि तालाबन्दी गर्ने घोषणा गरेका थिए । आन्दोलनकारीले यसअघि नै पदाधिकारीको कार्यकक्षमा समेत तालाबन्दी गरेका थिए ।

गत असार १६ गते चारै जना पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी गर्दै आन्दोलनकारीले पदाधिकारीको राजिनामा माग गरेका थिए । तालाबन्दी पछि पदाधिकारीले डिन कार्यालयबाटै दैनिक काम गर्दै आएका थिए ।

सरकारले माग पुरा नगरेको भन्दै आजबाट प्रतिष्ठानमा कार्यरत कर्मचारी , शिक्षक , विद्यार्थी र स्वास्थ्यकर्मीले हातमा कालो पट्टी बाधेर काम गर्न थालेका छन् । आन्दोलनकारीले मंगलबार सम्ममा पनि माग पुरा नभएर कोभिड अस्पताल र इमर्जेन्सीबाहेकको सेवा बन्द गर्ने घोषणा गरेका छन् ।  

प्रतिष्ठानको बेथिति र भ्रष्टाचारका विषयमा अध्ययन गर्न सरकारले उच्चस्तरीय अध्ययन तथा छानबिन कार्यदल गठन गरेको भएपनि कार्यदलले समेत माग पुरा गर्न चासो नदिएको भन्दै उनीहरूले आन्दोलनलाई थप कडा बनाएका हुन् ।