बिर्तामोड / धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन प्रति सत्तारुढ दल सम्वद्ध पाँच विद्यार्थी सङ्गठनले समर्थन जनाएका छन् ।

सत्तारुढ दल सम्वद्ध विद्यार्थी सङ्गठनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठानमा बेथिति र भ्रष्टाचार बढेकाले पदाधिकारीलाई पदमुक्त गर्न माग समेत गरेका हुन् ।

OM Sai Pathibhara Hospital

विद्यार्थी सङ्गठनका नेताहरूले पदाधिकारीको गतिविधि , भ्रष्टाचार अनि बेथितिले पठनपाठन र स्वास्थ्य उपचार प्रभावित भएको भन्दै तत्काल ठोस कदम चाल्न पनि उनीहरूले प्रधानमन्त्रीलाई सुझाव समेत दिएका छन् ।

प्रधानमन्त्री भेट्न पुगेका सत्तारुढ गठबन्धन निकट नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल छैठोका अध्यक्ष विमल पोख्रेलले त्यस्तो माग राखेका हुन् ।

उनीहरूले सीमा क्षेत्रका नेपालीमाथि भारतीय ज्यादती बढेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराएका छन् ।
शुक्रबार दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा व्यास गाउँपालिका वडा नं २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको विषयमा उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा जारी आन्दोलनको निकाश खोज्न र रोकिएका परीक्षा  सञ्चालन हुने वातावरण बनाइदिन पनि उनीहरूले ज्ञापनपत्र मार्फत माग गरेका छन् ।