बिर्तामोड / झापाको बिर्तामोडमा रहेको चिया बगान मासेर भिटा ब्यापार गर्ने चलखेल भएको खुलासा भएको छ । ‘गिरीबन्धु टि स्टेट’ को स्वामित्वमा रहेको जमिन बिक्रीका लागि मन्त्रीस्तरबाट निर्णय भएको खुलासा भएको हो ।
बिर्तामोडको मुक्तिचोकदेखि एक किलोमिटर भित्र रहेको मुल्यवान दुई सय ८० बिगाहा क्षेत्रफल जमिनमा चिया बगान छ । महँगो मूल्यको यो जग्गा बेचेर दुर्गमको सस्तो ठाउँमा कम्पनीका लागि जग्गा किन्ने योजना रहेको भन्दै बगान फडानीको अनुमति लिएको पाइएको छ । पूर्व–पश्चिम राजमार्गको उत्तर र दक्षिणमा रहेको जमिन कठ्ठाकै १ करोडभन्दा बढी पर्ने स्थानीयको भनाई छ । अर्बाैंको त्यो जमिनको सट्टाभर्ना गरेर बिक्री वितरण गर्ने तयारी गिरीबन्धुको छ ।
यो प्रक्रियाका लागि लामो समयदेखि पहल कदमी लिएको भएपनि केपी ओली प्रधानमन्त्री भएपछि मात्र गिरीबन्धुले उनलाई ‘कन्भिन्स’ गर्न सकेको स्रोतको दावी छ । ‘२० बर्षदेखि उहाँहरु यो जमिनको सट्टापट्टा गर्ने प्रयत्नमा हुनुहुन्थ्यो, स्रोतले भन्यो–‘केपी ओली नेतृत्वको मन्त्रीपरिषदले जाँदा जाँदै यसमा निर्णय गरेको थियो ।’ यो निर्णय गराउन ठुलो रकमको आर्थिक चलखेल भएको स्रोतको दावी छ ।
तत्कालिन प्रधानमन्त्री केपी ओली र उनको क्याबिनेटका मन्त्रीहरु पद्या अर्याल, शिवमाया तुम्बाहाम्फे र लिलानाथ श्रेष्ठले यो जमिनको लागि ऐन संसोधन गर्नेदेखि मन्त्रीस्तरबाट निर्णय गराउन भूमिका खेलेको बुझिएको छ । ज्ञानेन्द्र शाहले प्रत्यक्ष रुपमा शासन हातमा लिएको समयदेखि गिरीबन्धुले यो जमिनको बिषयमा अनुमति दिलाउन लबिङ गर्दै आएका थिए । तर, छोटो समयमा सरकार परिवर्तन भइरहने भएका कारण उनीहरुको योजना सफल हुन सकेको थिएन ।
निर्णय अनुसार चिया बगान अर्काे स्थानमा स्थानान्तरण हुने छ । मन्त्रालयले यसका लागि मालपोत कार्यालय झापालाई हालसम्म पत्राचार गरिनसकेको कार्यालय प्रमुख योगेन्द्र दुलालले जानकारी दिए । ‘मन्त्रालयबाट निर्णय भयो अरे भनेर बाहिर हल्ला सुनेको छु, दुलालले भने–‘औपचारिक रुपमा यहाँ पत्र आइसकेको छैन ।’
उद्योगका नाममा दर्ता रहेको हदबन्दीभन्दा धेरै रहेको जमिन बिक्री गर्न पाइँदैन । कुनै कम्पनी बन्द हुने अवस्था आएमा उद्योगको प्रयोजनका लागि प्रयोग गरिएकोभन्दा धेरै जग्गा सरकारको नाममा जाने व्यवस्था भूमिसम्बन्धी ऐनमा छ । गिरीबन्धुले झण्डै २ बर्षदेखि त्यहाँ रहेको चिया उद्योग बन्द गरेर सरकारसँग लबिङ शुरु गरेको त्यहाँ कार्यारत एकजना श्रमिकले जानकारी दिएका छन् । सो जमिनको सट्टाभर्नाका लागि भूमिसम्बन्धि ऐन २०२१ संशोधनसम्म गरिएको बताइएको छ । चिया उद्योग बन्द भएपनि बगान भने सञ्चालनमा रहेको बताइएको छ ।
उद्योग तथा कम्पनी साबिकको स्थानमा चल्नै नसक्ने अवस्थामा पुगे मन्त्रिपरिषद्को स्वीकृतिमा मात्र जग्गा स्थानान्तरण तथा सट्टापट्टा दिन मिल्ने गरी ऐन संशोधन गरिएको थियो । त्यसको लाभ उठाउँदै सरकारले उद्योगपतिको स्वार्थअनुसार अनुमति दिन ऐन संशोधन गरेको हो ।
भूमिसुधार ऐनको दफा १२ (ग)मा हदबन्दीभन्दा धेरै जग्गा बिक्री–वितरण तथा सट्टापट्टा गर्न नपाइने उल्लेख छ । त्यस्ता उद्योग, प्रतिष्ठान, कम्पनी र संस्था लिक्विडेसनमा जाने अवस्थामा भने नेपाल सरकारको स्वीकृतिमा बिक्री गर्न पाइने व्यवस्था उपदफा (१) मा उल्लेख छ । कम्पनी बन्द हुँदा यस्तो जग्गा स्वतः सरकारको नाममा आउनुपर्नेमा ऐन संशोधन गरेर बिक्री गर्न बाटो खोलिएको हो ।
राजा महेन्द्रले ०२१ मा भूमिसम्बन्धी ऐन लागू गर्दा जग्गाको हदबन्दी तोकिएको थियो । त्यतिवेला उद्योग तथा कम्पनीको नाममा अनुमति दिएर हदबन्दीभन्दा धेरै जग्गा राख्न दिने निर्णय गरिएको थियो । टाठाबाठाले त्यतिवेलै कम्पनी खडा गरेर हदबन्दीभन्दा धेरै जग्गा दर्ता गरेका थिए । त्यही जग्गा बेच्न अहिले चलखेल भएको हो ।
स्रोतका अनुसार झापाकै पृथ्वीनगरमा अर्काे जग्गासँग गिरीबन्धुले जग्गा सट्टापट्टा गर्न लागेको छ । चियाबगान स्थानान्तरण गरेपछि बिर्तामोडको जग्गा प्लटिङ गरेर बिक्री गर्ने तयारी छ । मुल्यवान जमिन बिक्री गरेर सस्तो जमिन खरिद गर्न अनुमति दिइएको छ । सैद्धान्तिक सहमति दिएको डेढ वर्षभित्र उद्योग स्थानान्तरण गरिसक्नुपर्ने प्रावधान छ ।
यसअघि सोही जमिनसँग जोडिएको ‘नाज टि स्टेट’ को ५१ बिगाहा जमिन पनि ‘चिया उत्पादन कम भएको’ भन्दै मन्त्री परिषदबाट निर्णय गराएर बिक्री गरिएको थियो । टि स्टेटका सञ्चालक सुदर्शन गिरीले सो जमिन बराबरको अर्काे जमिन झापाको बाहुण्डाँगीमा खरिद गरेर बगान स्थानान्तरण गरेका थिए । नाज टि स्टेटले त्यो बेला चर्चेको जमिनमा बिर्तामोड बसपार्क अवस्थित छ । अरु जमिन बिक्री भएर अहिले घनाबस्ती भएको छ ।