काठमाडौँ  / कारोना खोप संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी तालीका बनाउन अर्थमन्त्री जनार्दन शर्माले आग्रह गरेका छन् ।

अर्थ मन्त्रालयमा बुधबार भएको छलफलमा उनले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसंग फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न सुझाव गरेका हुन् ।

OM Sai Pathibhara Hospital

मन्त्री शर्माले खोप खरिदका लागि बजेटको कमी हुन नदिने भन्दै, जुन–जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउन आग्रह गरेका छन् । असोजभित्र खोप दिन नसकिएमा मुलुकको अर्थतन्त्र समेत धरापमा पर्न सक्ने उनले बताएका छन् । 

देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकाले विकास निर्माणको लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भए पनि खोप खरिदमा लगाइने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । मन्त्री शर्माले प्राप्त भएका खोप समेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने बताएका छन् ।

उनले सम्भव भएसम्म चाँडो खोप खरिद गर्ने काममा कुनै विलम्ब नहुने बताए । प्राप्त भएका खोप लगाउनका लागि कार्ययोजना बनाइएको र अब योजनावद्ध रुपले खोप कार्यक्रमले गति लिने राज्यमन्त्री श्रेष्ठले विश्वास दिलाएका छन् ।