बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकामा ५५ वर्ष माथिका पाँच हजार ६४८ जना नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइएको छ । स्थानीय सरकारको समन्वयमा मङ्गलबार र आज (बुधबार) खोप लगाइएको हो । 

बिर्तामोड नगरक्षेत्र भित्रका ५५ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको पहिलो डोज खोप लगाइएको छ । नगरका मनमाया मावि. चारपाने, देवी मावि. कृषिथोक, दुर्गा मावि. गरामनी, सरस्वती मावि. बुट्टाबारी, महेन्द्र जोती मावि. सैनिक बजार र महेन्द्र रत्न मावि. अनारमनी गरी ६ वटा खोप केन्द्र बनाइएको थियो । 

OM Sai Pathibhara Hospital

मङ्लबार दुर्गा मावि. गरामनीको ७, ८ र ९ वडाका जम्मा तीन सय ९४ जनालाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्यकर्मीले जनाएका छन् । खोप लगाउनेमा १९९ पुरुष र १९५ महिला रहेका छन् । त्यसैगरी महेन्द्र रत्न मावि. अनारमनीमा वडा नं. ३ र ४ का एक हजार एक सय ६ जनालाई खोप लगाइएको स्वास्थ्य कर्मीले बताएका छन् । 

त्यस्तै असार १४ र १५ गते शिक्षक र कर्मचारी, सवारी चालक र सार्वजनिक सरोकार राख्ने विभिन्न कार्यालयमा कार्यरत मजदुरहरुलाई उक्त खोप लगाइने बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका अधिकृत दीपक सापकोटाले जानकारी दिए । 

झापा जिल्लामा ६२ हजार डोज खोप आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाइँले बताए । 

कोरोना सङ्क्रमणको दर बढिरहेका वेला जिम्मेवार निकायले खोप लगाउने कार्यक्रममा लापरवाही गरेको आरोप स्थानीयको छ । खोप लगाउने कार्यक्रमलाई स्थानीय तहले व्यवस्थित नगरेर संक्रमण फैलाउने काम गरेको भन्दै उनीहरूले आलोचना गरेका छन् ।