दमौली / नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले व्यास नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड१९ नियन्त्रणका लागि रेडक्रस सोसाइटीले अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

नगरपालिकाले वडा नं १० दुम्सीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गर्न लागेको नगरस्तरीय अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको रेडक्रस तनहुँका मन्त्री चिनु पोख्रेलले जानकारी दिएका छन्  । उनका अनुसार नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, थर्मलगन, अक्सोमिटर, फेसशिल्ड, सर्जिकल गाउन, सर्जिकल क्यापलगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

OM Sai Pathibhara Hospital

नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई सामग्री हस्तान्तरण गर्दै रेडक्रस तनहुँका सभापति वाग्लेले कोभिड न्यूनीकरणका लागि रेडक्रसले आवश्यक सामग्री सहयोग गर्दै आएको र भविष्यमा पनि गर्ने बताएका छन् । नगरप्रमुख न्यौपानेले कोभिड न्यूनीकरण सबैको साझा प्रयासबाट सम्भव रहेको उल्लेख गर्दै रेडक्रसप्रति आभार व्यक्त गरेका छन्  

विसं २०२७ मा स्थापित रेडक्रस तनहुँले सेवामूलक काम गर्दै आएको छ । कोरोनाको अवधिमा रेडक्रस तनहुँ शाखाले सङ्गठन विकास, विपद् व्यवस्थापन, स्वास्थ्य तथा सामुदायिक हेरचाह तथा यसको सिद्धान्तका बारेमा विभिन्न कार्यक्रम गरेको जनाएको छ ।

रेडक्रसले कोरोना रोकथामका उपाय फैलाउने, देवघाट, कोटदरबार र दुम्सीकोटको एम्बुलेन्सका लागि रेगुलेटरसहितका सिलिण्डर वितरण, २८ वटा उपशाखामा मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण, स्वयंसेवक परिचालन, खोप लगाउनका लागि प्रेरित गर्ने,  बन्दीपुर र पुरनडिही अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर सहयोग, अक्सिजन सिलिण्डर वितरण गरेको जनाएको छ ।