काठमाडौँ / निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा  सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । 

निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि सङ्क्रमणदर पनि बढिरहेको बताएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट सङ्क्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ ।

OM Sai Pathibhara Hospital

“खुकुलो भएसँगै सङ्क्रमण हुने दर बढिरहेको छ । विगत एक हप्तादेखि सङ्क्रमित हुने दर बढ्दो रहेको छ”, उनले भने, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गरे पनि भीडभाड गर्ने र जनस्वास्थ्यमा मापदण्ड लागू नगर्दा सङ्क्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन ।”

सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । कोभिड–१९ को सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । 

मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भइरहेको जनाएको छ । उनका अनुसार अहिले दैनिक परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा सङ्क्रमणदर रहेको छ । नेपालमा शुरुदेखि अहिलेसम्मको सङ्क्रमणदर भने १९।३ प्रतिशत रहेको छ । 

सङ्क्रमणको दोस्रो लहर आएसँगै दैनिक एक हजार ८०० मा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ । अहिले त्यो सङ्ख्या बढेर तीन हजार पुगेको छ । साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा सङ्क्रमण देखिएकामा बिहीबार साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ पुगेका छन् । 

यस्तै साउन २ गते १० हजार ६६ परीक्षण हुँदा एक हजार ८७५, ३ गते नौ हजार ६२८ परीक्षण गर्दा एक हजार ८०१, ४ गते ११ हजार ६६४ परीक्षण हुँदा दुई हजार ४४५, ५ गते १३ हजार १३५ परीक्षण हुँदा तीन हजार १०८ र साउन ६ गते दुई हजार ८३८ जना सङ्क्रमित भएका छन् । 

मन्त्रालयका अनुसार मृत्यु हुने सङ्ख्या १८ सम्ममा झरे पनि बिहीबार २४ जनाको सङ्क्रमणबाट निधन भएको छ । यसैगरी सबभन्दा बढी सङ्क्रमणदर हुने प्रदेशमा प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् । ती प्रदेशमा परीक्षण गरिएकामध्ये दुई जनामा एक जना सङ्क्रमित पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । 

जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम बढेको बताए । उनले परीक्षणको दायरा कम र खुकुलो भएसँगै मानिसको भीडभाड भएकाले नेपालमा सङ्क्रमणको जोखिममा अझै रहेको बताए ।

उनले खोप लगाएका मानिसबाट पनि सङ्क्रमण सार्ने जोखिम उत्तिकै रहेको बताए । “खोप लगाएका मानिस केही हुँदैन भन्दै जनस्वास्थ्यमा मापदण्ड लागू गरिएको देखिएको छैन”, उनले भने, “खोपले सङ्क्रमणलाई नै रोक्ने होइन । सङ्क्रमणको लक्षणलाई मात्र कमी गराउने हो ।” नेपालमा पहिलो लहर सकिए पनि गत चैतको दोस्रो हप्तादेखि सङ्क्रमणको दोस्रो लहर आएको थियो । दोस्रो लहरले मानिसको जनजीवन असामान्य बनाएको थियो । सङ्क्रमणको दोस्रो लहरले फोक्सोमा असर पु¥याएर अक्सिजनको मात्रा घटाउने र निमोनियाजस्ता रोग लागेका थिए । जनस्वास्थ्यविद् भण्डारीका अनुसार भारतमा सङ्क्रमणको दर बढिरहेकाले नेपालमा जोखिम रहेको बताएका छन् । भारतको खुला सीमाका कारण भारतबाट सङ्क्रमण फैलने डर रहेको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले खुकुलो भएसँगै मानिसले जनस्वास्थ्यमा मापदण्ड प्रयोग नगर्दा जोखिम रहको बताए। “खोपले लगाएको चारदेखि छ हप्तासम्म काम गर्दछ”, उनले भने, “खोप लगाएकाले पनि स्वास्थ्यमा मापदण्ड लागू नगर्दा त्यो बीचमा जोखिम नै हुन्छ ।” उनले केही समय अस्पतालमा सङ्क्रमित बिरामी कमी आए पनि अहिले उपचार गर्नेको सङ्ख्या पनि बढेको बताएका छन् ।