काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड– १९) संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको ‘चेतावनी’ दिएको छ। मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै संक्रमणको वढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने ‘चेतावनी’ दिएको हो। 

निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ । 

OM Sai Pathibhara Hospital

काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको मन्त्रालयले जानकारी दिएको छ। यस्तै, २०० भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २६ पुगेको पनि मन्त्रालयको भनाइ छ।

'विगत एक हप्तामा संक्रमित हुने दर बढ्दो क्रममा छ,’ स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।