काठमाडौँ / कोरोना भाइरस
विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको
छ।
खोप अभियानमा काठमाडौँ
जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप
लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ
पोखरेलले जानकारी दिएका छन् ।
अहिले खोप लगाउनका लागि
काठमाडौँ जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ । उनले खोप भोलिसम्म खोप
केन्द्रमा गएर लगाउन सकिने बताएका छन् । उनले जोन्सन एन्ड जोन्सन खोपबारे
नकारात्मक हल्ला भएपछि मानिसहरुले कम लगाएको हुनसक्ने भन्दै खोपले कुनै नकारात्मक
प्रभाव नपार्ने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर
देउवाले यही साउन ४ गते खोप अभियानको शुभारम्भ गरेका थिए । भोलिसम्म लगाइने खोप
शुरुमा ५० देखि ५४ वर्ष उमेर समूहका सबैलाई भनिएको थियो । अमेरिकाले नेपाललाई १५
लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार
२८ गते अनुदानमा उपलब्ध गराएको थियो ।
जोन्सन एन्ड जोन्सन खोप
पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य
संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइँदैछ ।
नेपालमा अहिलेसम्म ३१ लाख
५० हजार ९५६ जनाले पहिलो मात्रा र ११ लाख ५८ हजार १३० जनाले दोस्रो मात्रा खोप
लगाइसकेका छन् ।