धरान / मदिरा पिएर लेखा प्रमुखले धम्की दिएको बिपी प्रतिष्ठानका डाक्टरले उजुरी दिएका छन् । मादक पदार्थ सेवन गरी धाकधम्कीसहित भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय रुपमा अध्ययनरत चिकित्सकले प्रहरीसमक्ष उजुरी दिएका हुन्। 

प्रतिष्ठानका लेखा प्रमुख कमल रायमाझीले छिमेकी क्वाटरका  डिएम अध्ययनरत डाक्टरलाई मादक पदार्थ सेवन गरेर गालीगलौज गरेको, मानसिक तनाव दिएको र भौतिक आक्रमणको धम्की दिएको भन्दै प्रहरीमा लिखित निवेदन दिएका छन् । रायमाझीले अपशब्द प्रयोग गर्दै क्वाटरबाट निकालिदिने धम्की दिएको निवेदनमा उल्लेख गरेका छन् । रायमाझीलाई हदैसम्मको कारबाही गर्न प्रतिष्ठानका चिकित्सक, विद्यार्थीले  माग गरेका छन् । 

OM Sai Pathibhara Hospital

अबेर रातिसम्म प्रतिष्ठानका चिकित्सक, विद्यार्थीले  रायमाझीको मापसे जाँच गर्नुपर्ने माग गरेर उनको कोठा घेराउ गरे पनि रायमाझीलाई भेट्न सकेका थिएनन् । क्वाटर घेराउपछि  प्रहरी आएको र रायमाझी भागेको उनीहरुको आरोप छ । रायमाझीले जेआर र डिएम अध्ययनरत चिकित्सकको क्वाटर आफूले लिन खोजेपछि विवाद बढेको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले जनाएको छ ।

तर आफूले मदिरा पिएको समेत अस्वीकार गर्दै, आफूमाथि लागेको आरोप झुटो रहेको आरोपित लेखा प्रमुख रायमाझीले सञ्चारमाध्यमलाई बताएका छन्  ।  क्वाटरको विषयमा भने निकै अघिदेखि विप्लव कार्कीसँग सरसल्लाह भएको उनले बताएका हुन् । कोठाकै विषयमा विप्लवले प्रतिबद्धता पूरा नगरेको विषयमा तँ तँ म म भएको हो तर पिएर गालीगलोज नगरेको उनले बताएका छन् ।  'नियोजित रुपमा प्रहरीलाई बोलाउने काम भयो, क्वाटर अगाडि भीड भएपछि बाहिर बसेको हुँ भागेको होइन ।' रायमाझीले भने।  आफूलाई फसाउन खोजिएको पनि रायमाझीले बताएका  छन् । 

डा. कार्कीलाई असार ३० गते प्रतिष्ठानले ७ दिनभित्र क्वाटर खाली गर्न पत्र पठाएको छ ।