चितवन / भरतपुर अस्पतालमा गएको तीन महिनामा विषालु सर्पले डसेका ३५ बिरामीको उपचार गरिएको छ । सर्पले डसेर दैनिक पाँच / सातजना बिरामी अस्पताल आउने गरेका छन्।

अस्पतालका आकस्मिक सेवा प्रमुख राजकुमार ढुङ्गानाका अनुसार वैशाखदेखि असार मसान्तसम्म विषालु सर्पले डसेर आएका ३५ जनाको उपचार गरिएको छ । सर्पले डसेर दैनिक आउने बिरामीलाई २४ घण्टा निगरानीमा राख्ने गरिन्छ । त्यस पश्चात् विष नदेखिएमा घर पठाउने गरिन्छ । उनि भन्छन् केले टोक्यो भनेर आउने समेत जोड्दा दैनिक यो सङ्ख्या १० जनाको हाराहारी हुने गर्दछ ।जिल्लामा भरतपुर अस्पतालमा मात्र सर्पदंशको बिरामीको निःशुल्क उपचार हुन्छ ।

OM Sai Pathibhara Hospital

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवनसहित बारा, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ र नवलपरासीका बिरामी यो अस्पतालमा उपचारका लागि आउने गरिन्छ । तीमध्ये पनि ठूलो सङ्ख्यामा नवलपरासीका बिरामी आउने गर्दछन् । अस्पतालले एन्टिस्नेक भेनम निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष कोभिडका कारण सघन उपचार कक्ष नभएकाले आठ जना बिरामीलाई एन्टिस्नेक भेनम सहित चितवन मेडिकल कलेज पठाइएको थियो । पौडेलका अनुसार अस्पतालमा वैशाखदेखि असोजसम्म सर्पले डसेका बिरामी आउने गर्दछन् । भरतपुर अस्पतालमा रहेर लामो समय सर्पदंश उपचार र अध्ययन एवं अनुसन्धानमा जुटेका वरिष्ठ फिजिसियन डा.विजय पौडेलका अनुसार सो अस्पतालमा एक वर्षमा पाँच सय देखि ६०० जनासम्म सर्पदंशका बिरामी आउने गर्दछन् ।

तीमध्ये १५० हाराहारी विषालु सर्पले डसेका हुने गरेको उनको भनाइ छ। यहाँ आउने बिरामीलाई मुख्य रुपमा कोब्रा, करेट , रसेन भाइपर पिट भाइपरले डसेका हुन्छन्। नवलपरासी क्षेत्रमा भाइपरको जोखिम बढी हुने गरेको छ । केही समयअघि मात्रै भरतपुर अस्पतालबाट अवकाश लिनुभएका पौडेलका अनुसार मानिसलाई डस्ने सर्प मध्ये ८० प्रतिशत विषालु हुँदैनन् ।

चितवनको पश्चिम र माडी क्षेत्रमा पाइने सर्प विषालु हुने उनले जानकारी दिएका छन् ।विगत वर्षमा सर्पदंशबाट धेरैको मृत्यु हुनेगरेको स्मरण गर्दै उनले पछिल्ला दिनमा मृत्यु दर निकै कम हुँदै गएको जानकारी दिएका छन् । भरतपुर अस्पतालमा सघन उपचार कक्ष स्थापना पूर्व विषालु सर्पले डसेका मध्ये ३५ प्रतिशतसम्मको मृत्यु हुने गरेको उनको भनाइ छ । वि.सं २०६५ मा भरतपुर अस्पतालमा सघन उपचार कक्ष बनेसँगै सर्पदंशका बिरामी बचाउन सकिएको उनको अनुभव छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीले पछिल्ला वर्षमा सर्पदंशका बिरामी बचाउन सकिएको बताएका छन्। मृत्यु दर घट्नुमा अस्पतालमा सघन उपचार कक्षलगायत विशिष्टीकृत सेवा शुरु हुनु, अध्ययन एवं अनुसन्धानले उपचार पद्धतिमा सहजता आउनु, जनचेतनाका कारण बिरामी समयमा नै अस्पताल आउनु रहेको उनको भनाइ छ ।

उनले यो मौसममा घरमा नै आएर करेत सर्पले डस्न सक्ने भएकाले घरमा सुत्नु अघि उच्च सावधानी अपनाउन, खेतबारीमा जाँदा बुट लगाउन, हिँडडुल गर्दा शरीरको पूरै भाग छोपिने गरी कपडा एवं जुत्ता लगाउन, घर वरिपरी भएका झाडी फाँड्न र सर्पले डसिहालेमा तत्काल अस्पताल आउन सुझाव दिएका छन् ।