विराटनगर / सरकारले कोरोना भाइरस ( कोभिड१९ ) को रोकथाम तथा उपचारमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरे पनि विराटनगरमा रहेको कोशी कोभिड-१९ उपचार केन्द्रमा खटिएका २४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ता अझै पाउन सकेका छैनन्।

जोखिम भत्ता नपाउने ८ जना मेडिकल अधिकृत, ८ जना एचए र ८ जना स्टाफ नर्स रहेका छन्। पहिलो चरणमा संक्रमण फैलिएपछि प्रदेश सरकारले २०७७ भदौ २१ देखि फागुन २० गतेसम्म सम्झौता गरेर ६ महिनासम्मको लागि २४ जना स्वास्थ्यकर्मीलाई करारमा नियुक्त गरेका थिए । सरकारले अग्रपङ्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

OM Sai Pathibhara Hospital

पहिलो लहरमा खटिएका २४ जना स्वास्थ्यकर्मीले गत मङ्सिरदेखि कार्तिकसम्मको जोखिम भत्ता नपाएको र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ताकेता गर्दा समेत सुनुवाइ नभएको हेल्थ असिस्टेन्ट दिलिप सिंहले गुनासो गरेका छन् ।

सुरुवातमा काम गर्दै आएका एचएहरू दिलिप सिंह, पुर्णिमा साह, अक्षय राई, गुरुदेब साह र प्रविण चौधरीलाई नियुक्त नगरी नयाँ दरबन्दी खोलेर मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले आफ्नो मान्छे राखेको र दोस्रो लहरमा संक्रमण फैलिदा कोभिड उपचार केन्द्रमा पहिले काम गर्ने स्वास्थ्यकर्मीलाई बाइपासगरेको उनीहरूको भनाइ छ ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सरकारले दुई महिनाको मात्र जोखिम भत्ता दिने भनेकाले सोही अनुसार दिएको बताएका छन् । कार्तिकदेखि जोखिम भत्ता संघीय सरकारले कटौती गरेकोले उपलब्ध गराउन नसकिएको उनले बताएका छन् । स्वास्थ्यकर्मी नियुक्तिको विषयमा भने मन्त्रालयले करार अवधि सकिएपछि खुल्ला प्रतिस्पर्धाले स्वास्थ्यकर्मी नियुक्त गरिएको बताएका छन्