काठमाडौँ  / तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने सरकारले तयारी गरेको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै कोभिड १९  विरुद्धको खोप अभियानलाई सरकारले तीव्रता दिएको हो । 

 स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने योजना तयार भैसकेको छ । मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आवश्यक खोपकोसमेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

हाल भने ५५ वर्षमाथिका नागरिकहरुलाई खोप लगाउने कार्य जारी छ । चरणचद्ध रुपमा सबै नागरिकलाई छिट्टै निस्शुल्क खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप आपूर्ति समस्याको समाधान भैसकेको मन्त्रालयको दाबी छ । सहप्रवक्ता अधिकारीका अनुसार यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप आइपुग्ने छ भने १६ गतेसम्म ३२ लाख खोप भित्रिसक्ने छ । त्यसपछि निरन्तर आवश्यक खोप आउनेछ ।

यस्तै यसअघि दोस्रो डोज खोप लगाउन छुटेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुका लागि पनि खोपको व्यवस्थापन गरिसकेको मन्त्रालयले जानकारी गराएको छ ।