बेनी / दोस्रो विश्वयुद्धमा अद्वितीय युद्धकला प्रदर्शन गरेबापत बेलायती सरकारबाट भिक्टोरिया क्रस (भिसी) पदक विजेता गोरखा सैनिक स्व तुलबहादुर पुनको जन्मघर म्याग्दीको रघुगङ्गा गाउँपालिका१ बादुक हो । उनले बेयायती सेनामा भर्ती भएर दोस्रो विश्वयुद्धमा बर्माको लडाईंमा अकल्पनीय वीरता प्रदर्शन गरेका थिए ।

उनले बेलायत अधिनस्थ भारतीय सेनाको १०११९ नम्बर सिक्स गोर्खा राईफल्स पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउको रेल्वे पुलमा जापानी सैनिकसँगको भीषण युद्धमा घाइते अवस्थामा पनि एक्लै लडेको बताइएको छ। सो युद्ध जितेकाले उनलाई भिसी क्रस पदक प्रदान गरिएको थियो ।

OM Sai Pathibhara Hospital

उक्त युद्धमा उनि एक्लैले जापानी सैनिकलाई परास्त गरी दुई हल्का मेशिनगनसहित धेरै हतियार कब्जा गरी अद्वितीय युद्धकला प्रदर्शन गरेको जनाउँदै बेलायती सरकारले भिसी पदक दिएको थियो ।

भिसी तुलबहादुरले पदक पाएको ७६ वर्ष पुगेका अवसरमा बेलायतमा असार दोस्रो साताबाट रेल सेवा शुरु भएको छ । बेलायतको एक रेल सेवाले त्यहाँको सर्वोच्च युद्ध पदक भिसी बिजेता स्व तुलबहादुर पुनको सम्मान गर्दै रेल सेवा शुरुआत गरेको उनका छोरा अर्जुनले जानकारी दिएका छन्  । बुबाको योगदानको उच्च सम्मान भएको महसुस गरेका छौँ, अब हामीले बुबा जन्मिएको थलोलाई चिनाउनका लागिसमेत थप काम गर्ने जमर्को गरेका छौँ”, अर्जुनले बताएका छन्। 

तुलबहादुरले भिसी पाएको ७६ वर्ष पुगेका अवसरमा बेलायतको पश्चिमी क्षेत्रमा सो सेवा शुरुआत गरिएको जनाइएको छ। बेलायतमा भिसीको चर्चा भइरहँदा उनको जन्मथलो बाँदुक गाउँ भने सुनसान छ । विश्वभर नै चर्चित व्यक्ति जन्मिएको ठाउँ बाँदुकलाई अध्ययन केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना रहे पनि अहिलेसम्म त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । एक्काइस वर्ष उमेरमा नै भिसी पदक प्राप्त गर्न सफल पुनको जन्मथलोलाई बहादुरको जन्मथलोका रुपमा अध्ययन केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना छ ।

 बादुक बहादुर जन्मिएको गाउँ

विश्वयुद्धमा सहासिक युद्धकला देखाएर विश्वभर चर्च बटुल्न सफल हुनुभएका दिवङ्गत तुलबहादुर पुनको जन्मथलो बादुक गाउँलाई बहादुर जन्मिएको गाउँका रुपमा चिनाउने र प्रचारप्रसार गर्ने तयारी गरिएको छ । रघुगङ्गा१ मा अवस्थित यस गाउँमा भिसी पुनको जन्म भएको र उनको हुर्काइ बढाइ भएको घर अझै सुरक्षित छ । उनको जन्मघरलाई नै सङ्ग्रहालयका रुपमा विकास गर्ने गरी आवश्यक तयारी थालिएको तुलबहादुरका बुहारी शान्ति पुनले बताएकी छन्।

घरलाई नै सङ्ग्रहालयका रुपमा विकास गर्न उनले प्रयोग गरेका सामानलाई संरक्षण गर्ने, पुराना र स्थानीय औजार, सामान, उपज, संस्कृति र वेषभुषालाई समेत सङ्ग्रहालयमा राख्ने गरी भिसीको सम्झनामा सङ्ग्रहालय बनाउने अवधारणा अघि सारिएको वडा सारिएको वडा सदस्य तिलककुमार तिलिजाले बताएका छन् ।

उनका बारेमा विश्वभर चर्चा छ, बेलायतमा त उनिको सम्मानमा धेरै कार्य भएका छन्, जन्मथलोलाई अहिलेसम्म चिनाउन सकिएको छैन, अब उनिको बहादुरीले विश्वभर बटुलेको चर्चलाई जन्मथलोतिर तान्ने हाम्रो जमर्को छ”, उनले बताएका छन् । उनको जन्मघरलाई सङ्ग्रहालय बनाउने र स्थानीय पुराना घरलाई मर्मतसम्भार गरी घरबास सञ्चालन गर्नेतर्फ स्थानीय उत्सुक भएर अभियानमा जुटेका छन् । घरबास सञ्चालन गर्ने र आगन्तुक पाहुनालाई स्थानीय मौलिक कलासंस्कृतिको मनोरञ्जन दिनका लागि स्थानीयले सांस्कृतिक समूह गठनको तयारीसमेत गरेका छन् ।

बेलायती सैनिकबाट अवकाश लिएपछि भिसी पुन जन्मथलो फर्किएर यहाँको भौतिक र सामाजिक विकासमा जुटेका थिए। त्यस समयमा पुनको अगुवाइमा गाउँमा खानेपानी, विद्यालय भवन, बाटो, खेलमैदान लगायतका विकास निर्माणका पूर्वाधार निर्माण भएका थिए । यहाँ आउने पर्यटकलाई पुनको अगुवाइमा बनेका विकास निर्माण पूर्वाधारको संरक्षण गरी यस ठाउँका ऐतिहासिक विकासका पूर्वाधारको अवलोकन गर्न सकिने थप आकर्षण हुनेछ ।

बेलायतको उच्च शैन्य सम्मान पाएका भिसी तुलबहादुरका नाममा तिप्ल्याङदेखि बाँदुक गाउँ जोड्ने सडकलाई भिसी मार्ग भनेर नामकरण गरिएको छ । बेगखोलाको बादुक गाउँमा सन् १९२३ मार्चमा जन्मनुभएका तुलबहादुर २० वर्षको उमेरमा भर्ती भएका थिए । उनको सन् २०११ अप्रिल २० मा ८८ वर्षको उमेरमा निधन भएको थियो । स्व.पुनको श्रीमती, बुहारी नातिनी गाउँमा बसेर बुवाले बनाएको सम्पत्तिको संरक्षण तथा फलफूल लगाउने काम गरि रहेका छन् ।

मगर कलासंस्कृति, बेगसँग जोडिएको दोस्रो अग्लो र लामो पुल झोलुङ्गे पुल भएको यस बादुक गाउँमा स्व पुन नाममा सङ्ग्रहालय निर्माण गर्न सकेमा आन्तरिकसँगै बाह्य र अध्ययनका लागिसमेत पर्यटकीय गन्तव्यका रुपमा विकास गरी स्थानीयको आयआर्जनमा टेवा पुर्याउन सक्ने भएकाले त्यसतर्फ पहल थालिएको वडाध्यक्ष विलबहादुर फगामीले जानकारी दिएका छन् ।