पर्वत / पर्वतको कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् ।
१३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका सङ्क्रमित भएको वडाध्यक्ष राजकुमार क्षेत्रीले बताएका छन् । रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको उनले बताए । उनले बालबालिका धमाधम सङ्क्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशङ्का गरिएको बताए । अनुसन्धानकर्ताले तेस्रो लहरको सङ्क्रमणले बालबालिका प्रभावित हुने प्रक्षेपण गरेका थिए । पर्वतको यो सङ्क्रमणको घटना तेस्रो लहरको सङ्केतका रूपमा व्याख्या गरे पनि भेरियन्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले बताएका छन् ।
चुवामा मात्रै अहिले बालबालिकासहित विभिन्न उमेरका ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । वडाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र अक्सिजनसहितको आइसोलेशन सञ्चालन गरेको छ । सङ्क्रमितलाई निःशुल्क उपचार, औषधि र अक्सोमिटरसमेत वितरण गरिँदै आएको छ । पर्वतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० रहेको छ । दोस्रो लहरमा सङ्क्रमित भएका दुई हजार १४६ मध्ये एक हजार ९२१ जना निको भएका हुन् । कोरोना सङ्क्रमणबाठ अहिलेसम्म ५८ जनाले ज्यान गुमाएका छन् ।