धरान / सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको समस्या समाधान गर्न समिति गठन गरेको छ । प्रधानमन्त्री एवं कुलपति कार्यालयले हिजो बिहिबार सचिव बैकुण्ठ अर्यालको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको हो । 

समिति ८ सदस्यीय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी गराएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको बताइएको छ । 

OM Sai Pathibhara Hospital

आन्दोलनरत पक्षका सहसंयोजक डा।विष्णु पोखरेलले समिति गठन भएको सुनेपनि औपचारिक रुपमा जानकारी भने नआएको बताएका छन्। उनले प्रधानमन्त्री कार्यालयका अधिकारीले सम्पर्क गरेर आफुहरुसँग आन्दोलनका बिषयमा जानकारी लिएको जनाएका छन् । उनले माग पुरा नहुनजेल आन्दोलन जारी राख्ने समेत बताएका छन् । 

प्रतिष्ठानमा चिकित्सक, विद्यार्थी, कर्मचारी तथा नर्सिंगहरुले आन्दोलन थालेको एक महिना बितिसकेको छ । असार १५ गते वार्ता स्थलमा उपकुलपतिले मदिरा पिएर आएको भन्दै वार्ता भाडिएपछि आन्दोलनकारीले पदाधिकारीको राजीनामा माग्दै उनीहरूको कार्यकक्षमा तालाबन्दी गरेका थिए । 

संघर्ष समितिले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउदै ४८ घण्टाभित्र माग पुरा नभए दैनिक २ घण्टा इर्मजेन्सी, कोभिड अस्पताल र पुर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा बहिष्कारको चेतावनी दिएका थिए ।