काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना गार्डप्रयोग नगर्न आग्रह गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना गार्डले कोभिड१९ को रोकथाम र नियन्त्रणमा कुनै काम नगर्ने भएकाले त्यस्ता भ्रमपूर्ण गार्ड नकिन्न आग्रह गरेका छन् ।

OM Sai Pathibhara Hospital

विज्ञापनमा गरिए जस्तो यस्तो यन्त्रले कोभिड१९ भाइरसलाई निष्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यहीन छ,” उनले बताएका छन्, “अहिलेसम्म कोभिड१९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन ।

गत वर्ष पनि कोरोनाको भाइरसबाट जोगाउनको लागि भाइरस रिमुभिङ कार्डप्रयोग गरिएकोमा मन्त्रालयले उक्त कार्ड प्रयोग नगर्न आग्रह गरेको थियो । उक्त कार्डले कोरोना भाइरस सङ्क्रमणबाट नजोगाउने उल्टै मुटु, फोक्सो लगायतमा गम्भीर असर पार्नसक्ने बताइएको थियो।

मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि एकमात्र उपाय खोप लगाउने, मास्कको सधैँ प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड लागू गर्ने बताएको छ । यस्तै मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको जोखिम बढेकोले स्वास्थ्यका मापदण्ड प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयले सङ्क्रमणबाट बच्न सुरक्षाका सबै उपाय अपनाई व्यापार गर्न समेत आग्रह गरेको छ।