चितवन / जिल्लाका अस्पतालमा बिरामीको चाप बढेसँगै
रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र
अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो ।
जिल्लाका अस्पतालमा
रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले एक सूचना जारी गर्दै
रक्तदानका लागि अपिल गरेको छ । सोसाइटीका जिल्ला सभापति ज्ञानशाली न्यौपानेद्वारा
जारी अपिलमा बिरामीको चाप बढेसँगै अस्पतालमा रगतको अभाव देखिएकाले रक्तदान गर्न
सबैलाई अपिल गरिएको छ ।
जिल्लाका अस्पतालमा
रहेका रक्त सङ्कलन केन्द्र,
युनिट एवं क्षेत्रीय रक्तसञ्चार केन्द्रमा गई रक्तदान गर्न सबैलाई
अपिल गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले
मागअनुसार रगत पुर्याउन नसकिएको बताएका छन् ।
केन्द्रमा दैनिक १००
युनिट रगतको माग भइरहेको भए पनि अहिले रगत उपलब्ध गराउन नसकिने अवस्थामा पुगेको उनले
जानकारी दिएका छन् । उनि भन्छन् ,
“केही दिनअघि पोखराबाट ३५० युनिट रगत ल्याएका थियौँ । त्यसले धान्न
सक्ने अवस्था छैन ।” जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा अस्पतालमा आएका बिरामीलाई रगत पुर्याउन
नसकिएको जानकारी दिएका छन् ।
कोरोनाका कारण
रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातीको
समय हुनुलगायतका कारणले रगतको अभाव भएको उनको भनाइ छ । यहाँका दुई ठूला मेडिकल
कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप
बढेसँगै रगतको माग बढ्न थालेको हो ।
अहिले स्वयंसेवी
रक्तदाता र बिरामीको आफन्तबाट रगतको माग धान्नुपरेको पौडेलले बताएका छन् । कोरोनाको
समयमा दैनिक ५० युनिट मात्र रगतको माग भए पनि निषेधाज्ञा खुकुलो भएसँगै रगतको माग
बढेको हो ।
पौडेल भन्छन्,“अस्पतालमा
बिरामीको चाप पुरानो अवस्थामा फर्किएकाले रगत पुर्याउन कठिन भएको छ ।” यहाँ रहेको
क्यान्सर अस्पतालमा देशका विभिन्न स्थानसँगै भारतीय सीमा क्षेत्रबाट उपचारका लागि
आउने गर्दछन् भने अन्य अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका
लागि आउँछन् ।