खलङगा / जुम्लाको तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउँपालिकाको नौ वटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको अध्यक्ष रतननाथ योगीले जानकारी दिएका छन् ।

उनी भन्छन् तिला गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरूको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएका छौँ । पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो छ । गाउँपालिका भित्रका बालबालिका खोपबाट वञ्चित हुने छैनन्।पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष योगीले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

उनका अनुसार घरघरमा पुगेर ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । भौगोलिक विकटता भएकाले पालिका भित्र जम्मा पाँचवटा स्वास्थ्य चौकी मात्र रहेका छन् ।

महिलाहरू घरायसी काममा व्यस्त हुने हुँदा यसअघि बालबालिका खोप लगाउन छुट्ने गरेका थिए । अहिले पालिकामा चारवटा आधारभूत स्वास्थ्य केन्द्र र तीनवटा स्वास्थ्य एकाइ स्थापना हुँदा खोपबाट वञ्चित हुनु नपरेको गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले जानकारी दिएका छन् ।

उनले स्वास्थ्य शाखाका जनशक्तिहरू परिचालन गरेर पूर्ण खोप सुनिश्चितता घोषणा गरेको बताएका छन् । खोप पाउनु नैसर्गिक अधिकार भएकाले जिल्लालाई पूर्ण खोप घोषणा गर्ने तयारी भएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले जानकारी दिएका छन् । कोरोनाको महामारीका बेला समेत खोप रोकिएको छैन ।

यहाँको पातारासी गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुन बाँकी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठ स्थानीय तहमध्ये छ पालिका यसअघि नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । तिला र पातारासी गाउँपालिका घोषणा हुन सकेका थिएनन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयानुसार वडास्तरदेखि पालिका प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने परिपत्रअनुसार यहाँका सात स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।