म्याग्दी / जिल्लाको बेनी नगरपालिका-३ भकिम्लीमा रहेको स्वास्थ्यचौकीमा छाता ओढ्नुपर्ने भएको छ। स्वास्थ्यचौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओढेर बस्ने गरेका हुन् ।

स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरेको बताएका छन् । भवनको अभावमा करिब एक हजार घरधुरीले सेवा लिने स्वास्थ्यचौकीको कामकाज प्रभावित बनेको हो ।

OM Sai Pathibhara Hospital

जीर्ण, साँघुरो र पानी चुहिने कच्ची भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्दा नागरिकलाई समस्या भएको छ । स्वास्थ्यचौकी सञ्चालन भएको नमूना आमा समूहको भवन मर्मत अभावमा जीर्ण बनेको हो । एक कोठामा प्रशासन र औषधि भण्डारण कक्ष बनाइएको छ । बहिरङ्ग, सोधपुछ र प्रसूति कक्ष एउटै कोठामा सञ्चालन भएको छ ।

गोप्य कक्ष नहुँदा सेवाग्राहीले लाज मानेर आफ्ना समस्या खुलेर स्वास्थ्यकर्मीलाई बताउन सक्दैनन् । दैनिक १० जनाको हाराहारीमा सेवाग्राही आउने गर्छन् । स्वास्थ्यचौकीको भवन बनाउन जग्गा प्राप्त भए पनि बजेट अभावमा कार्यान्वयन हुनसकेको छैन ।

स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष पदम पुनले भवन बनाउन नगरपालिका मार्फत प्रदेश र सङ्घीय सरकारमा प्रस्ताव गरिएको बताएका छन् । स्थानीयवासी पृथीलाल खत्रीको परिवारले आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ। यसअघि तीन रोपनी जग्गा उपलब्ध गराएको खत्री परिवारले नयाँ मापदण्डपछि थप पाँच रोपनी उपलब्ध गराएको हो ।

नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले विस्तृत परियोजना प्रतिवेदन तयार पारेर साझेदारीमा स्वास्थ्यचौकी भवन बनाउन प्रदेश र सङ्घ सरकारका निकायमा प्रस्ताव गरिने बताएका छन् ।