धरान / नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले समाधानको खासै पहल नगरेको आरोप लगाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार एक विज्ञप्ति जारी गर्दै कोभिड -१९ महामारीका बेलामा स्वास्थ्य प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिकसमेतलाई गम्भीर असर पुग्ने सरकारले नसोचेको आरोप पनि लगाएका छन् ।


OM Sai Pathibhara Hospital

प्रतिष्ठानभित्र अनेक बेथिति र अराजकता रहेको विवरण पटकपटक सार्वजनिक भएकामा ढाकछोप होइन आवश्यक उपचार जरुरी रहेको उल्लेख गर्दै कांग्रेसले प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरुको भावनामा चोट पुर्याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न नसकिने जनाएको छ ।


आन्दोलनमा संलग्न चिकित्सक, कर्मचारी र विद्यार्थीसँग सार्थक संवादमार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।