झापा / मेची प्रादेशिक अस्पतालमा अक्सिजन उत्पादन कार्य अन्तिम चरणमा पुगेको छ । अस्पतालमा दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको हो । 

अबको दुई दिनभित्र प्लान्ट जडान कार्य सम्पन्न हुने र त्यसलगत्तै अक्सिजन उत्पादन शुरु गरिने अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।  प्रदेश नं १ सरकारको रु एक करोडको सहयोगमा उक्त प्लान्ट निर्माण भएको हो । प्लान्ट खरिदमा रु ५५ लाख खर्च भएको र बाँकी रकम त्यसका लागि कोठा निर्माण तथा सिलिन्डर खरिदलगायतमा खर्च गरिने छ ।

OM Sai Pathibhara Hospital

झापामा निजी क्षेत्रका ठूला अस्पताल सञ्चालनमा रहेपनि अक्सिजन प्लान्ट बनाउनेमा मेची अस्पताल पहिलो स्वास्थ्य संस्था हो ।

साविक मेची अञ्चलको सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको भद्रपुरको मेची अस्पतालले झापा, इलाम, पाँचथर र ताप्लेजुङका बिरामीलाई उपचार सेवा पुर्याउँदै आएको छ । नयाँ भवनमा सञ्चालन हुन थालेपछि एकैपटकमा ४५ जना मृगौला रोगीलाई डाइलासिस सेवा पुर्याउन सकिने भनाइ रहेको छ ।