बिर्तामोड / झापाको बिर्तामोड स्थित प्रस्तावित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिन बनाइएको अनुगमन समितिमा नै विवाद सुरु भएको छ ।

सम्वन्धनका लागि चिकित्सा शिक्षा आयोगले बनाएको अनुगमन समितिमा उपाध्यक्ष डा. कृष्ण गिरी पक्षधर राखिएको विषयलाई लिएर विवाद भएको हो । बीएण्डसीका संचालक दुर्गा प्रसाईं विरुद्ध अदालतमा गिरीले दायर गरेको मुद्दामा साक्षी बसेका डा. भोजराज अधिकारीलाई सदस्य बनाएको विषयलाई लिएर विवाद भएको हो ।

अनुगमन समितिका संयोजक डा. प्रकाशराज पाण्डेले आफूलाई विवादमा फसाउने गरी डा. अधिकारीलाई समितिमा राखिएको भन्दै प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेपनि विवाद सतहमा आएको हो । सम्वन्धनका लागि स्थलगत अनुगमन गर्न भन्दै आयोगले पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको थियो । गोप्य रुपमा बनाइएको समितिका सदस्यमा डा. अधिकारी समेत रहेको खुलेपछि संयोजक पाण्डेले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

संयोजक पाण्डेले उपाध्यक्ष गिरीले आफ्नो स्वार्थ पुरा गर्ने उद्देश्यले डा. अधिकारीलाई समितिमा ल्याएको भन्दै अनुगमन प्रतिवेदनमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि सम्बन्धको विषय थप पेचिलो बनेको छ ।

सम्वन्धनका लागि उपाध्यक्ष गिरीले घुस मागेको आरोप लगाएपछि प्रसाईं विरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । गिरीले दायर गरेको मानहानिको मुद्दामा उनको पक्षमा डा. अधिकारीले बकपत्र दिएका थिए ।

अनुगमन समितिको प्रतिवेदन नबुझाइएको विषयमा संयोजक पाण्डेले भने केही पनि बताएका छैनन् । उनले सो विषयमा बुझ्न आयोगमा नै सम्पर्क गर्न आग्रह गरेका छन् ।