धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा. ज्ञानेन्द्र गिरी सहित प्रतिष्ठानका पदाधिकारीहरूलाई आन्दोलनरत चिकित्सक र कर्मचारीहरूले उपकुलपतिको कार्यकक्षमा थुनेका छन् ।

उपकुलपतिले एक औपचारिक पत्र मार्फत आन्दोलनरत संयुक्त संघर्ष समितिलाई वार्ताका लागि  बोलाएका थिए ।

OM Sai Pathibhara Hospital

वार्ताका क्रममा गिरीले मादक पदार्थ सेवन गरेको पाईएको र अस्वभाविक व्यवहार देखाएपछि गिरी सहित प्रतिष्ठानका पदाधिकारीहरूलाई उपकुलपतिको कार्यकक्षमै बन्धक बनाएको समितिका सह संयोजक डा.विष्णु पोखरेलले जानकारी दिएका छन् ।

उपकुलपति डा. गिरीसँगै रेक्टर प्रा. डा.गुरुप्रसाद खनाल, रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी, अस्पताल डेपुटी उपनिर्देशक डा.दिव्यराज मिश्र, सहायक अस्पताल निर्देशक डा.प्रमोद बराल, सिनेटर र पशुपति चौधरी लगायत वार्तामा सहभागी थिए ।

समितिले प्रतिष्ठानको बेथिति अन्त्य गर्नको लागि सोमबारदेखि आफ्नो माग सम्बोधन नगरेको भन्दै रिले अनसन सुरु गरेर आन्दोलन अघि बढाईरहेको थियो।

आन्दोलनकारीहरुले उपकुलपति सहित वार्तामा सहभागी सबै पदाधिकारीको मापसे परीक्षण गर्नुपर्ने माग गर्दै नाराबाजी गरि रहेकाछन् ।