धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र भएको वेथिति र भ्रष्टाचार अन्त्यको माग गर्दै यो वर्ष सुरु भएको आन्दोलन रिले अनशनमा पुगेको छ ।

वेथिति र भ्रष्टाचारको विरोधमा संलग्न चिकीत्सकमाथि उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्पष्टिकरण सोधेपछि आन्दोलनमा उत्रिएका उनीहरुले सोमबारबाट रिले अनशन सुरु गरेका हुन् ।

विपी प्रतिष्ठान भित्रको बेथिति र भ्रष्टाचार अन्त्यको माग राखेर हरेक वर्ष नागरिक समाज , प्रतिष्ठानका चिकीत्सक र कर्मचारीले आन्दोलन गर्ने गरेका छन् । पटक–पटक हुँदै आएका आन्दोलनले न त प्रतिष्ठान भित्रको वेथितिको अन्त्य भएको छ न भ्रष्टाचारमा संलग्नमाथि कारवाही  हुन सकेको छ । आन्दोलनकारीले कुनै अदृष्य फाईदाका लागि सम्झौता गरिदिंदा वेथिति र भ्रष्टाचारको अन्त्य हुन सकेको छैन ।

प्रतिष्ठानका चिकीत्सक एवं फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपतिले स्पष्टिकरण सोधेर कारवाही अघि वढाएपछि आन्दोलन सुरु भएको थियो । पोख्रेलले सामाजिक संजाल मार्फत अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको नम्वर राखेर छानविनको माग गर्दै अन्यलाई पनि छानविनका लागि दवाव दिन आव्हान गरेका थिए ।

दुई साता देखि जारी आन्दोलन र वार्तामा कुनै ठोस सहमति हुन नसकेपछि चिकीत्सकले रिले अनशन थालेका हुन् । पहिलो दिनको अनशनमा डा.पोख्रेल , डा.पदम नेपाली, डा. अमृत जैसी,  ज्योति बोगटी, सुवास बन्जाडे सहभागि बनेका छन् ।

आन्दोलनमा उत्रिएका उनीहरुले आफ्नो मागको सुनुवाई गर्न प्रतिष्ठानका पदाधिकारीले चासो नदेखाएको भन्दै उनीहरुले प्रयोग गर्ने सवारीसाधनको चाबी समेत खोसेर आफ्नो नियन्त्रणमा राखेका छन् । आन्दोलनकारीले आफ्नो योग्यताको प्रमाण पेश गर्न पनि उपकुलपति गिरीसँग माग राखेका छन् ।