काठमाडौँ / स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । यही १४ गते पछिल्लो निषेधाज्ञाको समय सकिएसँगै सार्वजनिक यातायात संचालन गर्न पाउनुपर्ने व्यवसायीको माग रहेको छ ।
व्यवसायी र अधिकारीबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । करिब दुई महिनाअघिदेखि भएको निषेधाज्ञाको कारण सार्वजनिक यातायात थन्किँदा मजदुर, सवारी धनी मर्कामा परेको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताए ।
जोरविजोर गरेर सवारी चलाउँदा यात्रु कोचाकोच गरेर राख्नुपर्ने अवस्था आउने भएकाले सबै सवारी चलाउनुपर्नेमा व्यवसायीको माग रह्यो । कोरोनाको जोखिम अझै नसकिएकोले स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको अनुगमनको व्यवस्था गर्नुपर्ने विषय पनि छलफमा उठेको थियो । उपत्यकामा सहित बाहिर जाने सवारी पनि खुला गर्न व्यवसायीले माग गरे।
गृहसचिव र मुख्यसचिवसँग सल्लाह गरेर १३ गतेसम्म निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले प्रतिबद्धता जनाएका छन् । महासङ्घले सार्वजनिक यातायातका चालक, सहचालकलाई अनिवार्यरूपमा खोप लगाउने व्यवस्था गर्न पनि माग गरेको छ ।