सर्लाहीको / सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्षको जेसिबीले ठक्कर दिई हत्या भएको छ ।  चालकसँग विवाद भएपछि शुक्रबार राति जेसिबीको बकेटले ठक्कर दिई वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या गरिएको हो ।

भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जानकारी दिएको छ ।  शुक्रबार राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएर फर्किने क्रममा जेसिबीका चालक तामाङसँग वडाअध्यक्ष श्रेष्ठको विवाद भएको थियो । 

OM Sai Pathibhara Hospital

विवादका क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले आवेशमा आइ जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको छ । घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका  वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।