बिर्तामोड / अवकाशको मूलमा पुगेका सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआइजी) प्रवीणकुमार श्रेष्ठको सेवा अवधि एक वर्ष थप भएसँगै उनको आईजीपी बन्ने बाटो खुलेको छ ।

सेवा अवधि थप सँगै डीआईजी श्रेष्ठ छोटो समयका लागि आईजीपी बन्ने बाटो खुलेको हो । पदावधि थप भएसँगै उनी मात्रै १५ दिनका लागि शसस्त्र प्रहरीको आईजीपी बन्ने छन् । भारतीय दुतावास सँगको सम्बन्धका कारण श्रेष्ठ संगठन भित्र समेत आलोचित पात्र हुन् ।

हालका आईजीपी शैलेन्द्र खनालको कार्यकाल आगामी चैत्र २५ मा सकिँदैछ । खनाल पछि हालका एआईजी पुष्पराम केसी आईजीपी हुने छन् । उनले पनि जम्मा २५ दिन मात्रै आईजीपी बन्ने मौका पाउने छन् ।

केसी पछिको वरियतामा रहेका डीआईजी श्रेष्ठ आईजीपी बन्ने छन् । उनी पनि १५ दिनका लागि मात्रै आईजीपी बन्ने छन् । त्यसपछि राजु अर्याल, चन्द्रप्रकाश गौतम र नारायणदत्त पौडेल मध्ये एक जना आईजीपी बन्ने छन् ।

मन्त्रिपरिषद् बैठकले श्रेष्ठको सेवाअवधि सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा एआईजी र डीआइजीको पदावधि एक वर्ष थप्न सकिने प्रावधान रहेकाले सोही प्रावधान अनुसार डीआईजी श्रेष्ठको सेवाअवधि एक वर्ष थप गरेको हो ।
श्रेष्ठको पदावधि एक वर्ष थप भएको जानकारी गृह मन्त्रालयले सशस्त्र प्रहरी प्रधान कार्यालयलाई गराएको छ । डीआईजी श्रेष्ठको पदावधि थप भएको सशस्त्र प्रहरीको मुख्यालयले समेत पुष्टि गरेको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ मा  एआईजी र डीआइजीको पदावधि ४–४ वर्ष रहने उल्लेख छ । सोही प्रावधानअनुसार हिजो मंगलबार बेलुका राती १२ बजे डीआईजी श्रेष्ठको अवकाश हुँदै थियो ।